काठमाडौंमा डेराकोठाबाट लागुऔषध कारोबारी पक्राउ, ठूलो परिमाणमा औषधीजन्य लागुऔषध बरामद


काठमाडौं।

औषधीजन्य लागुऔषध लुकाएर डेराकोठाबाट बिक्री वितरण गर्दै आएको गिरोह प्रहरी कारबाहीमा पर्दा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरोको विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका दुई स्थानमा गरिएको छापा मारी हजारौं एम्पुल औषधी र गाँजासहित कारोबारी पक्राउ परेका हुन्।

काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित गंगाहल शान्तिमार्गमा डेरागरी बस्दै आएका मोरङ, बेलबारी नगरपालिका–३ स्थायी निवासी निकु राईको कोठाबाट ट्रामाडोल क्याप्सुल ३५,५९० थान र १२ किलो ५०० किलोग्राम गाँजा बरामद गरिएको हो।

बल्खुस्थित कोठामा बस्दै आएका कुंगा तामाङ र पदम बहादुर महतोको कोठामा गरिएको कारबाहीमा बुप्रेनोर्फिन १०,३६७ एम्पुल, डाईजेपाम १०,३६७ एम्पुल र फेनार्गन १०,३६७ एम्पुल गरी जम्मा ३१,१०१ एम्पुल लागुऔषध बरामद गरिएको थियो।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

डेराकोठा प्रयोग गरी लागुऔषध कारोबार

प्रहरी अनुसार पक्राउ परेका व्यक्तिहरूले आफ्ना बसोबासका कोठाबाट अलग्गै कोठा भाडामा लिएर लागू औषध भण्डारण गर्दै आएका थिए। विशेष सुराकीको आधारमा निगरानीपछि सो कोठामा छापा मारिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरोले पछिल्लो समय डेरा, फ्ल्याट तथा घरहरूमा लागू औषध भण्डारण गरी लुकाइछिपाई कारोबार गर्ने प्रवृत्ति बढ्दै गएकाले घरधनी तथा स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।