सूचना माग्न अनलाइन पोर्टल सुरु’, नागरिक अधिकारको डिजिटल अभ्यास


काठमाडौं ।
नागरिकको सूचनाको हकलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउन राष्ट्रिय सूचना आयोगले ‘सूचना माग्न मिल्ने’ नयाँ अनलाइन प्रणाली सुरु गरेको छ । अबदेखि संघीय सरकारका मन्त्रालय, संवैधानिक निकाय तथा केन्द्रीय विभागसम्बन्धी सूचनाहरु सो अनलाइन पोर्टलमार्फत माग गर्न सकिनेछ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यका अनुसार यो प्रणाली संविधानमा प्रत्याभूत सूचनाको हकको प्रभावकारी कार्यान्वयनतर्फ आयोगको प्रयास हो । ‘सूचनाको हक नागरिकको मौलिक हक हो, त्यसको सहज पहुँचका लागि हामीले यो पोर्टल ल्याएका हौं,’ उनले बताए ।

पोर्टलमार्फत कुनै पनि मन्त्रालय वा विभागसँग सूचना माग गर्न सकिनेछ। मागिएको सूचना समयमा प्राप्त नभएमा त्यहीँबाट पुनरावेदन समेत गर्न सकिनेछ । पोर्टलको लिंक आयोगको वेबसाइटमा राखिएको छ ।

आयुक्त तथा प्रवक्ता गगन बिष्टका अनुसार यो प्रणाली हाल संघीय तहका निकायहरूमा लागू गरिएको छ र आगामी चरणमा प्रदेश र स्थानीय तहमा समेत विस्तार गरिनेछ । ‘यो प्रणालीले सूचनाको हक प्रयोग गर्न अझ सहज र प्रभावकारी बनाउनेछ,’ बिष्टले भने ।

असार ३१ गते सूचनाको हक अभियन्ताहरुलाई यो प्रणालीबारे जानकारी दिन तथा प्रयोगबारे तालिम दिइएको थियो । अब डिजिटल पहुँचको माध्यमबाट नागरिकले प्रशासनिक पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्न सक्नेछन् ।