काठमाडौं ।
विश्व बैंकको नयाँ ग्लोबल फिनडेक्स २०२५ प्रतिवेदन अनुसार यसले औपचारिक बचतमा उल्लेख्य वृद्धि ल्याएको छ । वित्तीय समावेशीताको यो गतिले नयाँ आर्थिक अवसर सिर्जना गर्दैछ ।
मोबाइल फोन प्रविधिको प्रयोगबाट विशेषतः उल्लेख्य परिवर्तन देखिएको छ । विकासशील अर्थतन्त्र भएका देशहरूमा वयस्कको १० प्रतिशतले मोबाइल मनी खातामार्फत बचत गरेका छन्, जुन २०२१ को तुलनामा ५ प्रतिशत विन्दुले वृद्धि हो ।
२०२४ मा विकासशील देशका ४० प्रतिशत वयस्कहरूले बैंक वा वित्तीय खातामा बचत गरेका छन्, जुन २०२१ को तुलनामा १६ प्रतिशत विन्दुले वृद्धि हो । यो विगत एक दशकको सबैभन्दा तीव्र वृद्धिदर हो । व्यक्तिगत स्तरको उच्च बचतले राष्ट्रिय वित्तीय प्रणालीमा तरलता वृद्धि गर्दै लगानी, नवप्रवर्तन र आर्थिक वृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ । उप–सहारा अफ्रिकामा मात्र औपचारिक बचत १२ प्रतिशत विन्दुले वृद्धि भई अहिले ३५ प्रतिशतमा पुगेको छ ।
‘वित्तीय समावेशीताले जीवन सुधार गर्न र पूरै अर्थतन्त्र रूपान्तरण गर्न सक्ने सम्भावना बोकेको छ,’ अध्यक्ष बंगाले भने, ‘तर डिजिटल वित्तमार्फत यो सम्भावना साकार पार्न आवश्यक पूर्वाधार तयार हुनुपर्छ । हामी डिजिटल परिचयपत्र, सामाजिक सुरक्षाअन्तर्गत डिजिटल नगद हस्तान्तरण प्रणाली, भुक्तानी प्रणाली सुधार र नियामकीय अवरोध हटाउने काममा देशहरूलाई सहयोग गरिरहेका छौं ।’
ग्लोबल फिनडेक्सका सह–प्रायोजक गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भने, “अहिले धेरै मानिसहरूसँग आर्थिक भविष्यमा लगानी गर्ने उपकरणहरू छन् । महिलाहरू र पछाडि पारिएका समूहहरू पनि समावेश भएका छन् । यो वास्तविक प्रगति हो ।
प्रतिवेदनले विश्वभरको वित्तीय सेवा पहुँचका आँकडा समेटेको छ । अहिले संसारभर झण्डै ८० प्रतिशत वयस्कसँग बैंक वा अन्य वित्तीय खाता छ, जुन २०११ मा ५० प्रतिशत मात्रै थियो । तर अझै पनि १।३ अर्ब वयस्क वित्तीय सेवाबाट बञ्चित छन् । यस अन्तरलाई मोबाइल प्रविधिले पुल गर्न सक्छ, किनभने तीमध्ये ९० करोडसँग मोबाइल फोन छन्, जसमा ५३ करोडसँग स्मार्टफोन छन् ।
भारतको यूपिआई र ब्राजिलको पिक्सजस्ता तत्काल भुक्तानी प्रणालीमा लगानीले वित्तीय प्रयोग विस्तारमा सघाउ पुग्ने उल्लेख गरिएको छ । त्यस्तै, ग्राहक संरक्षण तथा फोन तथा खाताको सुरक्षा प्रवद्र्धनले पनि भूमिका खेल्नेछ ।
डिजिटल सेवाको प्रसारले महिलाको वित्तीय पहुँचमा उल्लेख्य सुधार ल्याएको छ । अहिले विश्वभर महिलाको ७७ प्रतिशत र पुरुषको ८१ प्रतिशत खाता पहुँच रहेको छ । विकासशील देशहरूमा महिलाको खाता पहुँच २०११ को ३७ प्रतिशतबाट बढेर २०२४ मा ७३ प्रतिशत पुगेको छ । ग्लोबल फिनडेक्स डिजिटल कनेक्टिभिटी ट्र्याकर २०२५ अनुसार विश्वभर ८६ प्रतिशत वयस्कसँग मोबाइल फोन छ भने ६८ प्रतिशतसँग स्मार्टफोन छ । तर जोखिम पनि बढेको छ, किनभने निम्न र मध्यम आय भएका देशमा ४ अर्ब वयस्क मोबाइल प्रयोगकर्ता मध्ये झण्डै आधाले मात्र फोन पासवर्ड प्रयोग गर्छन् ।
२०२४ मा विकासशील देशहरूमा ४२ प्रतिशत वयस्कले पसलमा वा अनलाइन डिजिटल कारोबार गरेका छन्, जुन २०२१ को तुलनामा ७ प्रतिशत विन्दुले बढी हो । त्यस्तै, सरकारी सहायता पाउने तीन चौथाइ र तलब पाउने आधाभन्दा बढीले रकम प्रत्यक्ष खातामार्फत पाएका छन् । यसले चोरी कम गर्नुका साथै सही व्यक्तिलाई सहायता पुर्याउन सहयोग गरेको प्रतिवेदनको निष्कर्ष छ ।
क्षेत्रीय अवस्था
🔹 दक्षिण एशियाः
दक्षिण एशियामा करिब ८० प्रतिशत वयस्कसँग खाता छ, तर यो दर मुख्यतः भारतको कारण उच्च देखिएको हो, जहाँ पुरुष र महिलाको ९० प्रतिशतसँग खाता छ र ६५ प्रतिशतसँग मोबाइल फोन छ ।
🔹 पूर्वी एसिया तथा प्रशान्त क्षेत्रः
यो क्षेत्र डिजिटल कनेक्टिभी र वित्तीय सेवाको प्रयोगमा विश्वकै अग्रस्थानमा छ । यहाँका ८६ प्रतिशत वयस्कसँग स्मार्टफोन छ भने ८३ प्रतिशत वयस्कसँग वित्तीय खाता रहेको छ ।
🔹 युरोप तथा मध्य एसियाः
विकासशील अर्थतन्त्रहरूमा सबैभन्दा धेरै इन्टरनेट प्रयोग र सामाजिक सञ्जालमा संलग्नता यही क्षेत्रमा पाइन्छ । मोबाइल फोन स्वामित्वको दर ९४ प्रतिशतभन्दा माथि छ ।
🔹 ल्याटिन अमेरिका र क्यारिबियनः
झण्डै ७० प्रतिशत वयस्कसँग खाता छ र तीमध्ये अधिकांशले कार्ड वा फोनमार्फत डिजिटल रूपमा प्रयोग गर्छन् ।
🔹 मध्यपूर्व तथा उत्तर अफ्रिकाः
यहाँ खाताको स्वामित्व २०२१ को ४५ प्रतिशतबाट बढेर २०२४ मा ५३ प्रतिशत पुगेको छ । २०२४ मा १७ प्रतिशत वयस्कले औपचारिक रूपमा बचत गरेका छन्, जुन २०२१ मा ११ प्रतिशत मात्र थियो ।
🔹 उपसहारा अफ्रिकाः
यहाँ खाताको स्वामित्व २०२१ को ४९ प्रतिशतबाट बढेर २०२४ मा ५८ प्रतिशत पुगेको छ । मोबाइल मनी खाता प्रयोग गर्ने दर विश्वमै सबैभन्दा उच्च यही क्षेत्रमा छ ।











प्रतिक्रिया