१३ रेफरल अस्पताल पुनः बिमाको प्रथम सेवाविन्दु कायम

9.21k
Shares

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डले काठमाडौं उपत्यका बाहिरका १३ वटा रेफरल (ठूला) अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवाविन्दुका रूपमा सेवा सञ्चालन गर्न अनुमति दिएको छ । यसअघि बोर्डले यी अस्पतालहरूलाई प्रथम सेवाविन्दुबाट हटाउने निर्णय गरेपछि देशभर विरोध चर्किएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनलाई आधार मान्दै बोर्डले उक्त निर्णयलाई स्थगन गर्दै सम्बन्धित अस्पतालहरूलाई असोज मसान्तसम्मकै लागिमात्र भए पनि पुनः प्रथम सेवाविन्दुका रूपमा सेवा दिन अनुमति दिएको हो । यस निर्णयसँगै बिमित नागरिकहरू अब पुनः ती अस्पतालहरूबाट स्वास्थ्य बिमाको पहिलो चरणको सेवा लिन सक्ने भएका छन् ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार मन्त्रालयको पत्रका आधारमा काठमाडौं उपत्यकाबाहेकका १३ वटा रेफरल अस्पतालहरूलाई आगामी असोज मसान्तसम्मका लागि स्वास्थ्य बिमाको प्रथम सेवाविन्दुका रूपमा कार्य गर्न पत्राचार गरिएको हो ।

उहाँका अनुसार यो अस्थायी व्यवस्था भएकाले स्थानीय तहले सकेसम्म चाँडो प्रथम सेवाविन्दुका लागि छुट्टै अस्पताल वा स्वास्थ्य संस्था सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसअघि सामाजिक सञ्जालमार्फत बोर्डको निर्णयले नागरिकलाई परेको कठिनाइप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । उहाँले असहज क्षेत्रहरूमा नजिकै प्रथम सेवाविन्दु नहुँदा नागरिकले सेवा पाउन समस्या भएको उल्लेख गर्दै, तिनीहरूको सुविधा हेरेर केन्द्रीय सरकारी अस्पतालहरूमा अस्थायी रूपमा सेवा कायमै राख्ने व्यवस्था मिलाइएको बताउनुभएका थियो ।

उहाँले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु सञ्चालन गर्ने दीर्घकालीन नीति अवलम्बन भइरहेको पनि जानकारी दिंदै यसका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गरेर आवश्यक स्वास्थ्य संस्था स्थापना वा स्तरोन्नति गरिने बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउने लक्ष्यसहित सुधार प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री पौडेलले नागरिकलाई आफ्नै घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुरूप सबै स्थानीय तहमा उपयुक्त संरचना विकासका लागि सरकार निरन्तर प्रयत्नशील छ ।

सेवा कायम गरिएका १३ अस्पताल
१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

३. नारायणी अस्पताल, वीरगञ्ज
४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
८. जीपी कोइराला स्वासप्रश्वास केन्द्र, तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
१०. भेरी अस्पताल, नेपालगञ्ज
११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा