अन्तर्राष्ट्रिय फन्डिङ र नेपाल कनेक्सन नेटवर्कको पर्दाफास

6.3k
Shares


काठमाडौं ।

भारतको उत्तर प्रदेशस्थित आतंकवाद विरोधी दस्ता (एटीएस) ले एक ठूलो धार्मिक धर्मान्तरण सिन्डिकेटको पर्दाफास गरेको छ । जसको नेतृत्व जलालुद्दिन उर्फ ‘छंगुर बाबा’ ले गरेका थिए । प्रारम्भिक अनुसन्धानका आधारमा उनीमाथि १ हजार ५ सयभन्दा बढी हिन्दु महिलासहित हजारौं गैर–मुस्लिमलाई बलपूर्वक वा प्रलोभनमार्फत् इस्लाम धर्ममा धर्मान्तरण गराएको आरोप लागेको छ ।

छंगुर बाबा उत्तर प्रदेशको बलरामपुर जिल्लाको माधपुर गाउँका बासिन्दा हुन् । अनुसन्धानमा खुलेअनुसार उनले आर्थिक रूपले कमजोर वर्ग, विशेष गरी महिला, विधवा, अनाथ बालबालिका र दलित समुदायलाई लक्षित गरी उनीहरूलाई रोजगार, स्वास्थ्य र मानसिक उपचारका नाममा आफूसँग आकर्षित गर्थे । त्यहीँबाट शुरू हुन्थ्यो उनीहरूको ‘धार्मिक रूपान्तरण’ प्रक्रिया ।
खाडी मुलुक, दुबई र नेपाल हुँदै पैसाको बहाव

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईए, एटीएस र ईडीले प्रारम्भिक अनुसन्धानमा ठूलो अन्तर्राष्ट्रिय जालो पत्ता लगाएको छ । ती निकायले छंगुर बाबाको सम्पर्क दुबईस्थित इस्लामिक संस्था र व्यवसायीहरूसँग रहेको पुष्टि गरेको छ । उनले एनआरई÷एनआरओ खाताहरू प्रयोग गरी भारतमा करोडौं रुपियाँको फन्डिङ ल्याएको भेटिएको छ । उनको फन्डिङ नेपाल हुँदै भारत पुग्ने गरेको पनि खुफिया एजेन्सीहरुले दाबी गरेका छन् ।

२ सय करोड रुपियाँभन्दा बढी विदेशी रकम नेपाल पठाइएको एटीएस र भारतीय मिडियाहरूले जनाएका छन् । थप ३ सय करोड भारतीय रुपियाँ नेपाल पठाउने तयारी गरेको पनि भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

छंगुर सिन्डिकेटले नेपालका सीमावर्ती जिल्लाहरू रूपन्देही, नवलपरासी, बाँके र काठमाडौं क्षेत्रमा सयभन्दा बढी बैंक खाता, एजेन्ट र विभिन्न व्यक्तिहरूको सञ्जालमा प्रयोग गरेको दाबी गरिएको छ । केही एजेन्टहरूले स्वास्थ्य शिविर, शिक्षा तथा धर्म प्रचारको कार्यक्रम र धार्मिक पुस्तक वितरणका आवरणमा धर्मान्तरण अभियान अगाडि बढाएको बताइएको छ ।

उत्तर प्रदेश सरकारले छंगुर बाबाविरुद्ध कडा कदम चालेको छ । बलरामपुरको ३ करोड मूल्यको आश्रममा बुलडोजर चलाइएको छ । छंगुर, उनका छोरा नवीन (उर्फ जमालुद्दिन), सहकर्मी नसरिन (उर्फ नीतु) र मेहबुब पक्राउ परिसकेका छन् ।
उनीहरू लखनऊ जेलमा नजरबन्दमा रहेका छन् । अनुसन्धान अधिकारीले इलेक्ट्रोनिक उपकरण, मोबाइल, बैंक लेनदेन र विदेशी सम्पर्कहरूको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

भारतको मिडिया रिपोर्टअनुसार छंगुर बाबाको सिन्डिकेटले धर्मान्तरण गराउन आर्थिक दर नै तोकेको थियो । धर्म परिर्वतन गर्ने पुरुषलाई ५० हजार, महिलालाई १ लाख, हिन्दु महिलालाई १ लाख, दलित महिलालाई १ लाख ५० हजार भारतीय रुपियाँ दिने गरेको छ । त्यसरी बाँडिएका रकम सबै विदेशी स्रोतबाट आएको भारतीय अनुसन्धान अधिकारीहरूले अनुमान गरेका छन् ।

नेपालमा सक्रियता र सम्भावित उत्तराधिकारी

हालसम्म छंगुर बाबाको नेपालस्थित प्रत्यक्ष उत्तराधिकारीको पहिचान खुलेको छैन । तर, सुरक्षा निकायका अनुसार उनको प्रभावमा रहेका केही एजेन्टहरू नेपालको तराईका इस्लामिक शिक्षण केन्द्रहरू र स्थानीय संघसंस्थामा आबद्ध देखिन्छन् । कतिपय व्यक्तिहरूले नागरिकता बदलेर हिन्दु परिचय कायम राख्दै धर्म परिवर्तनलाई वैधता दिने प्रयास गरेका थिए ।
यस विषयमा नेपाल प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले छंगुर बाबाको नेपाल गतिविधिको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले छंगुर बाबाको गतिविधिलाई ‘राष्ट्रविरोधी’ र ‘समाज विघटनकारी’ भन्दै तीव्र आलोचना गर्नुभएको छ । भारतमा अहिले धार्मिक रूपान्तरणविरुद्ध कानुनी व्यवस्था कडाइ गर्ने बहस चर्किएको छ ।
छंगुर बाबाको प्रकरण एउटा व्यक्तिको धार्मिक गुमराहमात्र होइन, संगठित, अन्तर्राष्ट्रिय र राज्यपार सिन्डिकेटको खुलासा हो । नेपाल–भारत खुला सीमाले यस सिन्डिकेटलाई सहजता दिएको देखिएको छ ।

अब नेपाल सरकारले सामाजिक संस्था, धार्मिक शिक्षालय र बंैकिङ गतिविधिमा निगरानी बढाउने, अनुसन्धान तेज गर्ने र आपराधिक उद्देश्यले विदेशी फन्डिङ प्रयोग हुने अवस्था न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्नु अपरिहार्य देखिन्छ ।