काठमाडौंमा किशोरीबाट डिम्ब निकाल्ने गिरोहको पर्दाफास

डाक्टरसहित ५ जना पक्राउ

12.13k
Shares

काठमाडौं ।

काठमाडौंमा १८ वर्षमुनिका किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर जबरजस्ती डिम्ब (egg) निकाल्ने कार्यमा संलग्न गिरोहको पर्दाफास भएको छ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकबाट सञ्चालित उक्त गिरोहले किशोरीहरूलाई डिम्ब दानको नाममा प्रलोभनमा पारेर शारीरिक तथा मानसिक शोषण गर्दै आएको खुलेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धान अनुसार, पहिले डिम्ब दान गरिसकेका केही किशोरीहरूलाई नै एजेन्ट बनाइ अन्य किशोरीहरूलाई फसाइन्थ्यो। उनीहरूलाई प्रति डिम्ब रु। ५०,००० देखि १ लाखसम्मको लोभ देखाएर अस्पतालसम्म ल्याइन्थ्यो।

यसरी डिम्ब दान गरिएका किशोरीहरूमध्ये अधिकांशको उमेर १५ देखि १७ वर्षको बीचमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले डा.स्वस्ति शर्मा सहित पाँच जनालाई पक्राउ गरे पनि अदालतले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको छ। हाल उनीहरूविरुद्ध बालबालिका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

यस घटनासँग सम्बन्धित अर्को क्लिनिक एन्जल फर्टिलिटी क्लिनिक पनि अनुसन्धानको दायरामा परेको छ।

नेपालमा डिम्ब दान र विक्रीसम्बन्धी स्पष्ट कानुनी व्यवस्था अझै नभएको अवस्थामा, यस्ता क्रियाकलाप नियन्त्रणबाहिर जान थालेका छन्। तर कानुन व्यवसायीहरूका अनुसार, १८ वर्षमुनिका किशोरीहरूबाट जबरजस्ती वा प्रलोभनमा डिम्ब निकाल्नु आपराधिक कार्य हो, जसमा मानव तस्करी, बाल यौन शोषण र अंग व्यापारसम्बन्धी कानुन लागु हुन्छ।

चिकित्सा विशेषज्ञहरूले यस्ता गतिविधिले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्। किशोर उमेरमै डिम्ब निकाल्दा शरीरमा हर्मोन असन्तुलन, प्रजनन क्षमता क्षीण हुनु, र मानसिक तनावजस्ता गम्भीर असर पर्न सक्छ।

यस घटनाले फर्टिलिटी क्लिनिकहरूको नियमन, पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। अधिकारकर्मीहरू तथा बाल संरक्षण अभियानकर्मीहरूले सरकारले फर्टिलिटी उपचारसम्बन्धी स्पष्ट कानुनी मापदण्ड बनाउने, नाबालिगमाथि यस्ता कार्यमा प्रतिबन्ध लगाउने, र दोषीलाई कडा सजाय दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

साथै, किशोरीहरूलाई स्वास्थ्य र कानुनी सचेतनाको पहुँच पुर्‍याउन शिक्षा र सामाजिक सचेतनाको अभियान चलाउनुपर्नेमा पनि जोड दिइएको छ।