काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कडा स्टिङ अपरेसन गरेको छ । सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको स्टिङ टोलीले मंगलवार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउतलाई २४ लाख ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार उनीहरूबाट मोबाइल डिभाइससमेत बरामद गरिएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार उनीहरूले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस रकम मागेका थिए । त्यसरी कार्यालय प्रमुखलगायतका कर्मचारीले घुस रकम मागेको भन्ने सूचना तथा जानकारी अख्तियारमा आएपछि अख्तियारले स्टिङ टोली परिचालन गरेको थियो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यसै गरी अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई पनि सेवाग्राहीबाट सात हजार घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।











प्रतिक्रिया