भक्तपुर मालपोत कार्यालयका प्रमुखसहित कर्मचारी घुससहित पक्राउ


काठमाडौँ।

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोहीका नाममा पुर्जा बनाइदिने भन्दै घुस मागेको आरोपमा मालपोत कार्यालय भक्तपुरका प्रमुखसहितका कर्मचारीलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कार्यालय प्रमुख कुमार आचार्यको साथबाट दुईवटा मोबाइल, भूमिसुधार शाखाका नायब सुब्बा दीपक प्रसाद अधिकारीको साथबाट एकवटा मोबाइल र कार्यालय सहयोगी टीकाराम राउतको साथबाट एकवटा मोबाइलसहित २४ लाख ५० हजार रुपैयाँ घुस रकम बरामद गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सोमबार (२०८२ असार ३१ गते) मालपोत कार्यालय भक्तपुरकै परिसरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।