काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न एकीकृत जवाफदेहिता म्याट्रिक्स (Accountability Framework), २०८२ लागू गरिएको छ।
अध्यागमन विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक गरेको यो प्रणालीले अध्यागमन कर्मचारीहरूको कर्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ। यसमार्फत त्रुटिपूर्ण, लापरवाही वा कानुनविपरीत हुने कार्यहरूलाई नियन्त्रणमा ल्याउने लक्ष्य लिइएको छ।
नयाँ प्रणालीले अध्यागमन कार्यस्थलमा देखिने विविध समस्या र प्रक्रियागत त्रुटिहरूको व्यवस्थापन गर्दै दोषी पहिचान गर्न, आवश्यक अनुशासनिक वा कानुनी कारवाही गर्न र सेवा गुणस्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
जवाफदेहिता म्याट्रिक्समा अध्यागमनसम्बन्धी १८ भन्दा बढी समस्या, त्रुटि वा अनियमिततालाई समेटिएको छ, जसमा प्रत्येक समस्याको प्रारम्भिक जिम्मेवार कर्मचारी र अन्तिम रूपले जवाफदेही अधिकारीको स्पष्ट तोकिएको छ।
यस्ता छन् प्रमुख बुँदाहरू:
नक्कली कागजातसहित यात्रा प्रयास गर्ने यात्रु पहिचान भइपछिको कारवाही प्रक्रिया
प्रवेशमा रोक (Blacklist/Interpol Hit) लागेकालाई स्वीकृति बिना प्रस्थान वा आगमन अनुमति दिएको अवस्था
प्रणालीमा प्रविष्टि नगरी विदेशीलाई नेपाल प्रवेश गराउने लापरवाही
शरणार्थी हैसियतमा रहेका व्यक्तिलाई Arrival Visa दिने संवेदनशील गल्ती
राहदानीमा Arrival Stamp नलगाई छोडिने, Waiting मा लामो समय राखेर उडान प्रभावित गर्ने, जस्ता प्रक्रियागत लापरवाही
यी समस्यामा संलग्न अध्यागमन अधिकृतको पहिचान गरिनेछ, प्रारम्भिक अवस्थामै सचेत गराइनेछ भने पुनरावृत्ति भएमा कानुनी र विभागीय कारवाही अगाडि बढाइने उल्लेख गरिएको छ।
संलग्न निकायहरूसँग समन्वय
विदेशी नागरिकका भिसा तथा आगमन प्रक्रियामा देखिने समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी (Interpol Desk), नेपाल नागरिक उड्डयन प्राधिकरण, र सम्बन्धित नियोगहरूसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि स्पष्ट गरिएको छ।
प्रवासी नेपाली र मेनपावर कम्पनीसँग सम्बन्धित व्यवस्था
गैर-आवासीय नेपाली परिचयपत्र बिना भिसा दिने, अथवा एक उद्देश्य देखाएर विदेश गएका नेपाली अलपत्र परेको अवस्थामा संलग्न मेनपावर वा कन्सल्टेन्सीमाथि कारवाही गरिनेछ र पीडित यात्रुको उद्दारमा सहजीकरण गरिने छ।
प्रमुख अध्यागमन अधिकृतको नेतृत्वमा कार्यान्वयन हुने यस प्रणालीले अध्यागमन सेवाको गुणस्तर सुधार गर्नुका साथै राष्ट्रको सुरक्षा, वैदेशिक रोजगार, पर्यटन र अन्तर्राष्ट्रिय छविमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया