काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS ), धरानलाई अबदेखि प्रथम सेवा विन्दुको मान्यता नदिने निर्णय गरेपछि स्थानीय तहदेखि सर्वसाधारणसम्ममा असन्तुष्टि चुलिएको छ। बोर्डको निर्णय अनुसार १ साउन २०८२ देखि प्रतिष्ठानले स्वास्थ्य बीमाका सेवाग्राहीलाई पहिलो प्रवेशद्वारको रूपमा सेवा दिन पाउने छैन।
बोर्डले सार्वजनिक सूचना मार्फत धरानको प्रतिष्ठानसहित अन्य केही अस्पताललाई पनि उक्त सूचीबाट हटाएको जानकारी दिएको हो। यो निर्णयसँगै अब बीपीमा स्वास्थ्य बीमा अन्तर्गत सेवा लिन चाहने सेवाग्राहीले पहिले प्राथमिक सेवा केन्द्रमा जानु पर्नेछ।
तर, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई उक्त निर्णयसँग असन्तुष्ट छन्। उनले बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेलाई फोनमार्फत कडा भाषा प्रयोग गर्दै विरोध जनाएका छन्। मेयर साम्पाङले धरानमा वैकल्पिक ठूला अस्पतालको अभाव रहेको उल्लेख गर्दै, बीपी प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दु कायम गर्न आग्रह गरेका छन्। उनले जनताले दबाब दिनुपर्ने अवस्था आउनसक्ने चेतावनी समेत दिएका छन्।
आईतबार मेयर राईले पुनः बोर्डलाई पत्र लेख्दै धरानको भौगोलिक तथा जनसंख्यागत विशेषता ध्यानमा राखी निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
यसबीच, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नविकरण अवधि ३१ असारमा समाप्त भइसकेको बताउँदै, मंगलबारसम्म नविकरण नभए बीमा सेवा स्वतः निष्क्रिय हुने चेतावनी दिएको छ। अस्पतालका अनुसार बोर्डसँग ७४।५ करोड रुपैयाँको बक्यौता बाँकी रहेको छ, जसले सेवा सञ्चालनमा समस्या निम्त्याएको छ।
उता, बोर्डले भने सूचीबाट हटाइएको निर्णय नीतिगत आधारमा गरिएको बताउँदै आएको छ। यद्यपि स्थानीय जनप्रतिनिधि र नागरिक समाजले धरान क्षेत्रका जनताको पहुँचमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय तत्काल सच्याउन माग गरिरहेका छन्।
स्वास्थ्य बीमा कार्यक्रम सुलभ र सर्वसुलभ बनाउने सरकारी प्रयासबीच यस्तो निर्णयले कार्यक्रमप्रतिको जनविश्वासमा असर पर्ने खतरा देखिएको छ। अब बोर्ड, स्थानीय सरकार र अस्पतालबीच सहकार्य गरेर समाधान निकाल्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया