निक्की र गोवा चेम्बरबीच सीमा पार लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र गोवा उद्योग वाणिज्य संघ (गोवा चेम्बर) बीच आपसी व्यापार, सीमा पार लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

शुक्रवार भारतको गोवा राज्यमा आयोजित एक कार्यक्रममा निक्कीका अध्यक्ष सुनील केसी र गोवा चेम्बरकी अध्यक्ष प्रतिमा धोण्डले समझदारीपत्रमा हस्ताक्षर गरे। यस समझदारीमार्फत दुई संघबीच व्यापार, लगानी, उद्योग तथा पर्यटनका क्षेत्रमा आपसी समझदारी, जानकारी आदानप्रदान तथा व्यवसायिक सम्पर्क विस्तार गर्ने लक्ष्य लिइएको छ।

निक्की अध्यक्ष केसीका अनुसार, यस सहकार्यले आर्थिक प्रवृत्ति, लगानी परिवेश, सरकारी नीति, क्षेत्रीय अवसरहरू र विविध जानकारीहरू आदानप्रदान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै दुईतर्फी व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, संयुक्त बैठकहरू, व्यापार मेला, प्रदर्शनी तथा व्यापार सम्मेलनहरू आयोजना गर्न समेत सहकार्य हुने जानकारी दिइयो।

गोवा भारतको पश्चिमी तटीय राज्य हो, जुन अरबी समुद्रसँग जोडिएको छ र पर्यटनको दृष्टिकोणले निकै प्रसिद्ध मानिन्छ। अध्यक्ष केसीले गोवा चेम्बरसँगको सहकार्यले नेपालको हिमाली आकर्षण र गोवाको तटीय तथा सांस्कृतिक सम्पदाबीच समन्वय गर्दै धार्मिक, सांस्कृतिक, साहसिक तथा अध्यात्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए।

सो अवसरमा गोवा चेम्बरकी अध्यक्ष प्रतिमा धोण्डले यस समझदारीले दुबै देशका उद्यमीहरूलाई साझेदारी, लगानी परियोजना तथा प्रविधि स्थानान्तरणमा नयाँ सम्भावनाहरू खोज्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

दुवै पक्षबीच सहकार्य अन्तर्गत हरेक वर्ष कम्तीमा एक पटक संयुक्त विषयगत फोरम, सम्मेलन, गोष्ठी वा गोलमेच कार्यक्रम आयोजना गरिनेछ। साथै संस्थागत संवादमार्फत दुवै महासंघबीच नियमित सम्पर्क कायम राख्ने, व्यापारिक समुदायका हितका लागि नीति संवाद तथा पैरवी गर्ने, तथा अनुसन्धान र प्रकाशन आदानप्रदानमा पनि जोड दिइने छ।

अध्यक्ष केसीका अनुसार, समझदारीअनुसार उद्योग र आर्थिक विकाससँग सम्बन्धित प्रविधि स्थानान्तरण, परामर्श तथा उत्तम अभ्यासहरूको आदानप्रदानमा पनि सहयोग पुग्नेछ। यसका लागि संयुक्त कार्यदल वा समिति गठन गरिनेछ, जसले सहकार्यका पहलहरू कार्यान्वयन गर्ने तथा नयाँ प्रस्तावहरू ल्याउने कार्यमा संलग्न हुने छ।

नेपाल–भारत वाणिज्य तथा उद्योग महासंघ (निक्की) सन् १९९३ मा स्थापना भएको द्विपक्षीय, गैर-सरकारी र गैर-नाफामूलक संस्था हो। यसले नेपाल–भारत बीचको आर्थिक सहकार्य प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

त्यस्तै, गोवा चेम्बर सन् १९०८ मा स्थापना भएको भारतकै पुराना र प्रतिष्ठित क्षेत्रीय व्यवसायिक संघमध्ये एक हो। गोवामा पर्यटन, औषधि, कृषि प्रशोधन, ढुवानी तथा खानी उद्योगमा विशिष्ट प्रभाव रहेको छ। गोवा सन् १९६१ सम्म पोर्चुगलको उपनिवेश रहेको हुँदा यहाँका १७औं शताब्दीका चर्चहरू, मसला खेती, समुद्री किनारहरू तथा बागा, पालोलेम, अगोंडा जस्ता माछा मार्ने गाउँहरू समेत आकर्षणका केन्द्रहरू हुन्।