हिँड्न सक्दैनथे स्वतन्त्र,  कला र संगीत छोडेर बिदा भए

24.25k
Shares

कला, संगीत र चलचित्र पत्रकारितामा उदाहरणीय योगदान दिएका स्वतन्त्र संसार महर्जन रहेनन् ।

४६ वर्षको उमेरमा शनिवार बिहान करिब ६ बजेको आसपासमा कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो।स्पाइनल ट्युमरका दीर्घ रोगी रहेका उनलाई पिसाबमा समस्या देखिएपछि गत बुधवार अस्पताल लगिएको थियो।कम्मरमुनिको भाग नचल्ने भएपनि गीत, संगीत क्षेत्रमा पाईला नरोकिएका उन त्यसैको माध्यमबाट अझ उचाईमा उडे ।उनको जीवन एक संघर्ष र सिर्जनाको कथाका रुपमा कलाकारहरुले लिएका छन्।

खोकनावासी महर्जनले २०५६-५७ सालदेखि कला क्षेत्रमा पाइला टेकेका थिए । २०६२ सालमा चलचित्र अभिनयमा प्रवेश गर्दै उनले ‘ निफ्वो स्वाः’, ‘जिपी बदमास मखु ’ , ‘थ्व जिगु नुगः’ , र ‘ इहिपा’ लगायत  ९ वटा चलचित्रमा अभिनय गरिसकेको थिए । त्यसैगरी उनले ‘पिया च्वना’ लगायत ३ चलचित्र निर्देशन समेत गरे। पाँच दिन अघि मात्रै उनले निर्माण गरेको नेपाल भाषाको नयाँ गीत‘ल्यासे स्वः जुल ’ सार्वजनिक भएको थियो। गीतले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको थियो।

उनी जीवनको अन्तिम क्षणसम्म पनि १ सय ३२ फरक विधामा संगीत अवार्ड वितरण गरेर गिनिज बुकमा नाम दर्ता गर्ने महत्वाकांक्षी अभियानमा सक्रिय थिए । सो अभियानको प्रत्यक्ष पर्यवेक्षण गिनिज वल्र्ड रेकर्ड प्रतिनिधिहरूले गरिरहेका थिए, जुन कार्यले नेपाललाई अन्तर्राष्ट्रिय संगीत नक्शामा चिनाउने आशा जगाएको थियो।

त्यसैगरी महर्जनले स्थापना गरेको संसार संगीतालय हरेक शनिवार नयाँ तथा पुराना कलाकारहरूलाई बोलाउने मञ्च थियो, जहाँ सजीव प्रस्तुतिका माध्यमबाट कलाकारबीच सहकार्य र सम्मानको माहोल सिर्जना हुन्थ्यो।

उनले सञ्चालन गरेको संसार्स अनलाइन टिभीमा प्रशारण हुने टक शो ‘व्यक्तित्व म्हसिका’ एक लोकप्रिय कार्यक्रम बनेको थियो।यसमा नेपाली कला, संगीत, साहित्य र समाजमा योगदान पु¥याउने व्यक्तित्वहरूसँग गम्भीर अन्तरवार्ता प्रस्तुत गरिन्थ्यो।कार्यक्रमले सयौं भाग पार गरिसकेको छ । त्यसक्रममा उनले युट्युबबाट आउने रोयल्टी सर्जकलाई सिधै हस्तान्तरण गर्ने गर्दथें। यो कार्यशैली कलाकारमैत्री र नैतिक दृष्टिकोणको प्रतीक रहेको वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरको कथन छ ।

 वरिष्ठ निर्देशक तथा लेखक प्रकाश साय्मीका अनुसार कला क्षेत्रसंगै स्वतन्त्र महर्जनको सक्रियताले फरक क्षमता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण बदल्न योगदान पु¥याएको छ।‘ उनको इच्छाशक्ति, निष्ठा र सिर्जनात्मक ऊर्जा अमूल्य सम्पत्ति हो। ’ उनले भने।

शनिवार नै ललितपुरको सिकाली चौरस्थित घाटमा नेवाः परम्परा अनुसार महर्जनको अन्त्येष्टि गरियो। उनका १३ वर्षीय छोरा संवत् महर्जनले पार्थिव शरीरमा दागबत्ती दिएका थिए।

दाहसंस्कारमा सयौं कलाकार, पत्रकार, सर्जक, शुभेच्छुकहरूको भावुक उपस्थिति रहेको थियो  ‘ आज उनी शारीरिक रूपमा हामीसंग छैनन्, तर उनको सपना, योगदान र प्रेरणा हामी सबैका लागि सदैव मार्गदर्शक बन्नेछ ।’ ललितपुर महानगरपालिका– २१ का वडाअध्यक्ष रवीन्द्र महर्जनले भने।