राप्रपामा बढ्दो विवाद, इतर समूह निर्वाचन आयोग जाँदै


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय र मनोमानी व्यवहारको विरोध गर्दै इतर समूह आज आइतबार बिहान ११ बजे निर्वाचन आयोग जाने तयारीमा छ।

शनिबार महामन्त्री धवलशम्शेर राणाको सचिवालयमा बसेको भेलाले लिङ्देनको पछिल्लो कारबाहीहरूलाई विधानविपरीत ठहर गर्दै आयोगमा उजुरी दिने निर्णय गरेको हो। केही दिनअघि अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई बर्खास्त गर्नुका साथै अनुशासन समिति संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए।

पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्रीहरू विक्रम पाण्डे, हरिबहादुर बस्नेत, तथा पार्टीका अन्य वरिष्ठ नेताहरूको समेत भेलामा उपस्थिति रहेको थियो। उनीहरूले लिङ्देन नेतृत्वको एकल निर्णयले पार्टी विधि र लोकतान्त्रिक प्रक्रिया उल्लंघन गरेको आरोप लगाएका छन्।