श्रृङ्गेश्वर गुफा संरक्षणमा पालिकाको पहल

470
Shares

दोलखा ।

दोलखाको कालिञ्चोक गाँउपालिकाले वडा नम्बर–८ मा रहेको श्रृङ्गेश्वर गुफा क्षेत्रको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पहल शुरू गरेको छ ।
उक्त क्षेत्रमा त्रेता युगका महान तपस्वी ऋष्यशृङ्गका पुत्र श्रृङ्गी ऋषिले तपस्या गरेको विश्वास गरिन्छ । जनश्रुतिअनुसार तपस्याको लागि श्रृङ्गी ऋषि हिमालयको एकान्त तपोभूमिको खोजीमा निस्किएका थिए । यही क्रममा महादेवको बासस्थान रहेको कैलाश पर्वततर्फ अघि बढ्दै जाँदा दोलखाको सुनखानी क्षेत्रमा पुगे र त्यही बसेर तपस्या गर्न थाले ।

अर्कोथरी जनश्रुति अनुसार अयोध्याका राजा दशरथको सन्तान प्राप्तिका लागि श्रृङ्गी ऋषिलाई पुत्रकामेष्टि यज्ञ गर्न आमन्त्रण गरिएको थियो । श्रृङ्गी ऋषिले उक्त यज्ञ सम्पन्न गरेपछि यज्ञको पायस (दूध) दशरथलाई दिए । त्यसपछि दशरथका चार सन्तान राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको विश्वास गरिन्छ ।

पछि रामले सीतासँग तामाकोशीको तीरैतीर चर्नावती, देउलाङ्गेश्वर हुँदै शिवजीलाई भेट्न कैलाश पर्वत जान आफूहरूको जन्मका लागि पुत्रकामेष्टि यज्ञ गर्ने उनै श्रृङ्गी ऋषिलाई लिएर गएका थिए । सोही क्रममा शिवजीको दर्शन गरेर फर्किएपछि श्रृङ्गी ऋषि सुनखानी क्षेत्रमा अवस्थित श्रृङ्गेश्वर गुफामा बसेर तपस्या गर्न थाले भने राम र सीता काठमाडौंको बाटो हुँदै अयोध्या फर्किएका हुन् भनिन्छ ।

श्रृङ्गेश्वर मन्दिर संरक्षण संस्थाका अध्यक्ष सुनखानीका स्थानीय रामजी घिमिरे अयोध्याका राजा दशरथको सन्तान नभएपछि सन्तान प्राप्तिको वरदान माग्न उनी श्रृङ्गी ऋषिले तपस्या गरिरहेको सुनखानी क्षेत्र आएर पुत्र बर माग्दै ऋषिको पाउमा दण्डवत गरेको र सो क्रममा ऋषिले आफ्नो आँखाबाट झरेको आँशु पत्नीहरूलाई खुवाउनु भनेर दिएपछि दशरथका तीन पत्नीबाट चार सन्तान राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको जनश्रुति सुनाउनुहुन्छ । पछि रामले महादेवको दर्शन गर्न कैलाश पर्वतमा जाँदा सुनखानीबाट श्रृङ्गी ऋषिलाई समेत सँगै लगेको जनश्रुति प्रचलनमा रहेको घिमिरे बताउनुहुन्छ ।

संस्कृतका अध्येता शान्तिकृष्ण श्रेष्ठ पुत्रप्राप्तिका लागि श्रृङ्गी ऋषिलाई भेट्न सुनखानी क्षेत्र आउनुभएका राजा दशरथले आफ्नो आशुले ऋषिको पाउ धोएको र ऋषिबाट प्राप्त जडीबुटी आफ्नो स्त्रीहरूलाई खुवाएपछि पुत्रलाभ भएको जनश्रुति सुनाउनुहुन्छ ।
कालिञ्चोक गाँउपालिकाको वडा नम्बर– ६, ७ र ९ को सिमाना समेत रहेको उक्त क्षेत्रमा श्रृङ्गेश्वर ऋषिले तपस्या गरेको गुफा, नागको सीर मानिएको सिला, कालिञ्चोक भगवतीको प्रतिमा, जट्टेश्वर महादेव– कालिका भगवती थान, बनझाँक्री गुफालगायतका धार्मिक एवम् सांस्कृतिक महत्वका गुफा तथा मठ– मन्दिर रहेका छन् ।

उक्त क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय केन्द्रको रूपमा विकास गर्न पालिकाले सडक तथा गोरेटो बाटो निर्माण, मन्दिर तथा गुफा संरक्षण, उक्त क्षेत्रको सांस्कृतिक महत्व झल्कने डकुमेन्ट्री निर्माणलगायतका काम गरिरहेको अध्यक्ष अर्जुन शिवाकोटीले बताउनुभयो ।

आगामी आर्थिक वर्ष उक्त क्षेत्रको संरक्षण र प्रर्वद्धनको लागि २० लाख बजेट रहेको र त्यसबाट सडकलगायतका भौतिक संरचना निर्माण गरिने वडा नम्बर– ८ का वडा अध्यक्ष बालकृष्ण आचार्य बताउनुहुन्छ ।