आज २५ अर्ब ११ करोडको बजेट आउँदै

2.35k
Shares

कामपाले पूर्वाधार विकासे शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकास विभागमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार, कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले आइतबार बजेट ल्याउने घोषणा गरेअनुसार आज बस्ने कार्यपालिकाको बैठकमा बजेट तर्जुमा समितिका संयोजक एवं उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मेयर साहले शुक्रवारको बैठकमा २४ मध्ये पहिलो एजेन्डा प्रस्तुत गरेपछि बैठक स्थगित गर्नुभएको थियो । उहाँले करिब १ मिनेट ८ सेकेन्ड बोलेर आइतबारको लागि बजेटको मिति तय गर्नुभएको थियो । स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कामपाले पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट राखेको छ । सो शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपियाँको बजेट व्यवस्था गर्न लागेको छ ।

दोस्रोमा सामाजिक विकास विभागमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार विनियोजन गर्ने तयारी गरेको छ । त्यस्तै, कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।

शुक्रवार बिहान ११ बजे स्रोतनिर्धारण बैठकले बजेटको स्रोत निर्धारण गरेको थियो । त्यसलगत्तै उपमेयर सुनिता डंगोलको संयोजकत्वमा बसेको बजेट तर्जुमा समितिको बैठकले बजेट बाँडफाँट गरेको हो । गएको पुस महिनादेखि बस्न नसकेको बैठक करिब ७ महिनापछि गत शुक्रवार बसेको हो ।

कामपाले आज जारी गर्ने बजेट साउन १ गतेबाट लागू हुनेछ । मेयर साह र उपमेयर सुनिता डंगोलबीच टकराब परिरहेको बेला प्रवक्ता नवीन मानन्धरले बजेट ल्याउन मुख्य भूमिका खेल्नुभएको हो । कार्यपालिकाको बैठक प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले सदस्यसचिवको पीमा बैठक सञ्चालन गर्ने कार्यक्रम छ ।

आगामी आबमा महानगरले आन्तरिक श्रोतबाट अनुमानित आय र मौज्दात गरी १० अर्ब १२ करोड ६४ लाख संकलन गर्ने लक्ष्य लिएको छ भने बैक मौज्दात रकम १० अर्ब रहने छ ।

आज प्रस्तुत गरिने बजेटमा कामपाले नेपाल सरकारको समानीकरण अनुदानअन्तर्गत ७० करोड ९३ लाख, चालू आबको लागि सशर्त अनुदानअन्तर्गत १ अर्ब ५० करोड १९ लाख र पँुजीगततर्फ सशर्त अनुदानवापत १३ करोड ५ लाख, प्रदेश सरकारको समानीकरण अनुदान शीर्षकमा ९ करोड २ लाख ६६ हजार, सशर्त चालू २ करोड ३२ लाख र सशर्त पुँजीगतमा १ करोड ३२ लाख ५० हजार पाउने उल्लेख गरिएको छ ।

त्यस्तै संघीय सरकारको राजस्व बाँडफाँटबाट २० अर्ब २ करोड, प्रदेशबाट ३९ करोड ९० लाख र स्थानीयबाट ११ करोड र आन्तरिक जनसहभागिताबाट ८५ लाख रुपियाँ आम्दानी श्रोत कायम गरिएको छ । बजेट विभिन्न विभागले दिएको खर्चको आकारअनुसार बाँडफाँट गरिएको छ । यसअघि मेयर साहको कारण प्रत्येक महिना हुनुपर्ने बैठक शुक्रवार सय दिनपछि हुन लागेको हो ।

पछिल्लो पटक पुस १४ गते महानगरको १६ औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गर्नुभएको थियो । मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक नबस्ने अडान लिएका थिए । बजेट नआउँदा महानगर नचल्ने अवस्था पुगेपछि मेयर साहले बैठक बोलाउनुभएको थियो ।