३९ नागरिक अझै बेपत्ता, सरकार मौन

पीडित अझै न्यायको प्रतीक्षामा

1.97k
Shares

काठमाडौं ।

‘हाम्रो छोरा फर्कन्छ कि भनेर हामी अझै पनि सिमलताल आउँछौं । बस त्रिशूलीले खायो, सरकार चुप बस्यो । अब लास पनि देख्न पाइएन’ एक वर्षअगाडि सिमलतालमा भएको दर्दनाक दुर्घटनामा हराएका छोरा रमेश चौधरीको नाम लिँदै उनका बुबा कृष्ण चौधरीले आँखाभरि आँसु पार्दै भन्नुभयो ।

२०८१ सालको असार २८ गते राति, नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा यात्रुवाहक बस विशाल पहिरोसहित त्रिशूली नदीमा बगे । शनिवार एक वर्ष पूरा भयो, तर ३९ जना यात्रुको अवस्था अझै अज्ञात छ । न त बस भेटिएको छ, न त शवहरू । त्रिशूलीको बहावले तिनीहरूलाई कहाँ पुर्‍यायो, कसैले थाहा पाउन सकेका छैनन् ।

दुर्घटनामा परेका दुईवटा बसमध्ये एञ्जल्स डिलक्स (बा प्र ०३–००६ ख १५१६) मा २६ जना यात्रु थिए, जसमध्ये १० जनाको शव फेला पर्‍यो । बाँकी १६ जना अझै बेपत्ता छन् । सोही बसमा सवार भारतीय नागरिकहरूमध्ये २ जना मृत भेटिए पनि ५ जना अझै हराइरहेका छन् ।

त्यस्तै, गणपति डिलक्स (बा प्र ०३–००१ ख २४९५) मा ३६ जना यात्रु थिए । तीमध्ये ३ जना जीवित उद्धार भए, १० जनाको शव भेटियो भने २३ जना अझै त्रिशूलीको रहस्यमा हराएका छन् । सर्लाहीका शम्भु यादवका छोरा विपिन यादव गणपति डिलक्स बसमा सवार थिए । ‘मैले छोराको मृत शरीर देख्न पनि पाइनँ’ –उहाँले भक्कानिँदै भन्नुभयो– ‘छोराको शव नै भए पनि एकपटक हेर्ने मन थियो ।’

विदेशबाट गोताखोर आए, नतिजा शून्य

दुर्घटना भएको केही दिनसम्म नेपाली गोताखोरको सहायतामा त्रिशूलीमा खोजी कार्य चल्यो । पछि भारत र चीन, इजरायलबाट समेत गोताखोर बोलाइयो । सरकारी संयन्त्रले भव्य प्रदर्शन गरेजस्तो गरे पनि वास्तविक उपलब्धि केही भएन । बसहरू अहिलेसम्म भेटिएका छैनन् । ‘सरकारले त ठूलो–ठूलो कुरामात्रै गर्‍यो, तर हाम्रो छोराको कुनै समाचार नै छैन । के हामी नागरिक होइनौं ?’ –प्रश्न गर्दै कञ्चनपुरका बेपत्ता मनोज भट्टका दाजु अजय भट्ट दुखेसो पोख्नुहुन्छ ।

गृह मन्त्रालयले घटनाको अध्ययनका लागि सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनअनुसार दुर्घटनाको मुख्य कारण थियो, कमजोर सडक इन्जिनियरिङ, अत्यधिक क्रस स्लोप र पर्खालविहीन भिरालो सडक । तर, त्यो प्रतिवेदन कार्यान्वयन भयो कि भएन, त्यो थाहा कसैलाई छैन । मृतकका आफन्तका लागि ती कागजका पानाहरूभन्दा पनि शवहरू महत्तपूर्ण थिए ।

दुर्घटनापछि त्रिशूली नदीले नारायणी हुँदै भारतसम्म शव बगाएको थियो । दुई वटा शव भारतमा भेटिएका थिए । तर बाँकी शवहरू न त्रिशूलीले फर्कायो, न सरकारको खोजी टोलीले । ‘हामी त वर्षौंसम्म कुर्न सक्छौं । सरकारको खोजी चाहिँ तीन महिना पनि टिक्न सकेन । न त विस्तृत अपरेसन भयो, न वैज्ञानिक खोजी’ –बारा निवासी बेपत्ता पूजा साहका दाजु असीम साहले गुनासो गर्नुभयो ।

दुर्घटनामा जीवित बचेका अजय लम्साल भन्नुहुन्छ– ‘हामी बसमा निदाएका थियौं, अचानक बस हल्लियो, तलतिर चिच्याएको आवाज आयो । अनि केही थाहा भएन । जब म आँखा खोलेँ, म त ढुंगा र पानीको बीचमा अड्किएको थिएँ’ –उहाँ अहिले पनि रातको निद्रामा त्रिशूलीको गर्जन सुन्नुहुन्छ रे ।

सरकारले हाम्रो पीडालाई उपेक्षा गर्‍यो : बेपत्ताका परिवार

दुर्घटनापछि सरकारले क्षतिपूर्तिको कुरा गरेको थियो, बिमा दाबी सजिलै गराउने भनेको थियो । तर, पीडितहरूका अनुसार ती प्रतिबद्धताहरू पनि कागजमै सीमित छन् । ‘मेरो श्रीमान् बेपत्ता हुनुहुन्छ, बिमा दाबी गर्न जानु त सास्तीको अर्को नाम हो । कागजात माग्छन्, प्रमाण माग्छन् । अब म कहाँबाट ल्याउने प्रमाण ?’ –चितवनकी एक पीडित राधा थापाले रुँदै भन्नुभयो ।

अहिले पनि प्रत्येक असारमा बेपत्ताका आफन्तहरू त्रिशूली किनार पुग्छन् । सम्झना गर्छन्, रुन्छन् । कसैका हातमा तस्बिर हुन्छ, कसैको मुठीमा पूजा सामग्री । ‘के हामीले आफन्त गुमाउनु पनि अपराध हो ? किन सरकारले हामीलाई सम्झिँदैन ?’, एक वृद्ध आमाले भक्कानिँदै भन्नुभयो– ‘जसको छोरी शर्मिला काफ्ले त्यो रात एन्जल्स डिलक्स बसमा थिइन् ।’

त्रिशूलीले मानिसमात्र होइन, पूरा परिवारको आशा बगायो । एक वर्षसम्म कुनै स्पष्ट उत्तर नदिने सरकार, आधा अधुरा अनुसन्धान, कार्यान्वयन नभएको प्रतिवेदन, यी सबै मिलेर यो घटनालाई अझ पीडादायी बनाएका छन् । सिमलताल त्रासको अर्को नाम भएको छ अहिले । र, पीडितका लागि त्रिशूली नदी शोकको सागर बनेको छ ।

सरकारले भोलि कुनै अर्को सिमलताल दोहोरिन नदिन चाहन्छ भने, आजका आँसुको मूल्य बुझ्नुपर्छ । बेपत्ताहरूको खोजी फेरि थाल्नुपर्छ, निष्कर्षमा पुग्नुपर्छ । कमसेकम आफन्तहरूले भन्न पाऊन्, ‘अब कम्तीमा सास त छैन, तर लास भेटियो ।’