स्वास्थ्य पत्रकारिता र रक्तदान अभियानमा योगदानका लागि प्रधान सम्पादक न्यौपाने सम्मानित


काठमाडौँ।

स्वास्थ्य पत्रकारिता र रक्तदानजस्तो मानवसेवामूलक अभियानमा सक्रिय योगदान दिएको भन्दै नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सम्मान गरेको छ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गर्दै स्वास्थ्य क्षेत्रमा सञ्चारकर्मीले पुर्‍याएको योगदानलाई प्रेरणादायी भने।

श्रेष्ठले रक्तको अभावमा कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ ब्लोदानले विगत तीन दशकदेखि देशभर रक्तदान अभियान चलाउँदै आएको जानकारी दिए। “स्वयंसेवी रक्तदाता अभियानलाई थप सशक्त बनाउन विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थालाई सम्मान गर्दै आएका छौं,” श्रेष्ठले भने, “त्यही सिलसिलामा पत्रकार न्यौपानेलाई पनि आज सम्मान गरिएको हो।”

उक्त सम्मान कार्यक्रम विश्व रक्तदाता दिवसकै अवसरमा गरिने योजना भए पनि न्यौपाने अनुपस्थित रहेकाले ब्लोदानको केन्द्रीय समितिको बैठककै अवसर पारेर सम्मान गरिएको हो।

सम्मान ग्रहण गर्दै सम्पादक न्यौपानेले स्वास्थ्य पत्रकारिता मार्फत जनचेतना फैलाउन पाएको अवसर र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो सम्मानले आफूलाई अझ जिम्मेवार र सक्रिय बन्ने हौसला मिलेको बताए।

ब्लोदानका सचिव विष्णुराज श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्लोदानका उपाध्यक्ष केशव महर्जन, कार्यसमिति सदस्यहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

ब्लोदान स्वयंसेवी रक्तदानमा सक्रिय संघसंस्थाको छाता संगठन हो, जसले देशैभर रक्तदान तथा स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले बिरामीलाई विना शुल्क रगत उपलब्ध गराउन स्वयंसेवक रक्तदाताहरुलाई प्रोत्साहन गर्दै आएको छ।