राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करिब १५ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

भ्रष्टाचार अनुसन्धानका क्रममा केन्द्रबाट गुरुयोजना नबनाई मिलेमतोमा उच्च मूल्यमा खरिद प्रक्रिया अघि बढाइएको र बोलपत्र शर्त विपरीत गुणस्तरहीन प्रोसेसर भएको स्टोरेज खरिद गरिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

२०७६/७७ मा उच्च प्रविधियुक्त संरचना (High Compute Infrastructure) खरिद गर्दा २.४ GHz प्रोसेसर हुने शर्तमा टेन्डर आह्वान गरिए पनि, २.१ GHz प्रोसेसर भएको स्टोरेज आपूर्ति गरेर झुटा कागजातमार्फत अस्वाभाविक मूल्य कायम गरी रकम भुक्तानी लिइएको पाइएको छ।

यस क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक र लेखा अधिकृत निमबहादुर वली लगायतले मिलेमतो गरी सार्वजनिक संस्थालाई आर्थिक हानि पुर्‍याएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।

यसैगरी खरिदमा संलग्न वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रा.लि. र सोका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठमाथि पनि मुख्य कसूरदार सरह मुद्दा दायर गरिएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, १९ र २२ अनुसार कैद र बिगो असुल गर्ने सजायको मागदाबी गर्दै १५ करोड ८८ लाख ५० हजार रुपैयाँ विगो असुल उपर गर्न माग गर्दै आरोपपत्र दायर गरेको हो।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको छ।