काठमाडौं ।
कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसलाविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेको हो । पुनरावेदनपत्र छिट्टै सर्वोच्चमा दर्ता हुने जानकारी दिँदै महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भन्नु्भयो– ‘उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन जाने भनेर महान्यायाधिवक्ताज्यूले बुधबार नै निर्णय गरिसक्नुभएको छ । अब छिट्टै सर्वोच्चमा दर्ता हुनेछ ।’
तल्लो अदालतको फैसलामा एक तहमाथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने नीति रहेको छ । फैसलाका क्रममा गम्भीर विचलन देखा परेको र प्रमाणको मूल्यांकन नगरी फैसला भएको भनी चौतर्फी प्रश्न उठेको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने यसअघि नै निश्चित जस्तै रहेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतबाट सफाइ पाएका मोहम्मद आफताब आल लगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदावी लिई सर्वोच्च अदालतमा पुनरावेदन दिने गरी तयारी पूरा गरिसकेको बताइएको छ ।
गत १४ जेठमा उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दाका आरोपितहरु मोहम्मद आफताब आलमलगायतलाई आरोपबाट सफाइ दिने फैसला गर्नुभएको थियो । त्यस्तो फैसला गर्ने दुवै जना न्यायाधीशलाई जिम्मेवारीबाट मुक्त गरेर अहिले न्यायपरिषद्ले छानबिन गरिरहेको छ ।











प्रतिक्रिया