काठमाडौ ।
कम्पनी नवीकरण र दर्ताका लागि त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीहरूले व्यापक सास्ती खेपिरहेका छन्। सर्भर डाउनको बहानामा काम अड्काउने, जरिबाना छुट नदिने, र बिचौलियामार्फत मात्र काम गरिदिने आरोपहरू कार्यालयमाथि लागेका छन्।
सिन्धुलिका गोपाल श्रेष्ठ लगायत सेवाग्राहीहरू जरिबानाबाट छुटको सरकारी घोषणाको बाबजुद १५ हजार रुपैयाँसम्म जरिबाना तिर्न बाध्य भएको गुनासो गर्छन्। महोत्तरीका मोहन यादब पनि स्टार्टअप कर्जाका लागि कम्पनी नवीकरण र स्थान परिवर्तन गर्न दिनहुँ कार्यालय धाइरहेका छन्।
सेवाग्राहीहरू आफैं पुग्दा सर्भर नचल्ने, तर बिचौलिया पठाउँदा तुरुन्त काम हुने बताउँछन्। चुक्ता पूँजीअनुसार ०.३–१ प्रतिशतसम्मको घुस दिनुपर्ने भन्दै खुला रूपमा बिचौलिया सक्रिय छन्।
रजिस्ट्रारको नयाँ अनलाइन प्रणाली ‘क्यामिस’ स्वयंमा प्रभावकारी भए पनि कर्मचारीको आचरण र प्रणालीको केन्द्रीकरणले समस्या झन गहिरो बनाएको छ। उपरजिस्ट्रार ज्ञानराज कोइरालाले भने बिचौलिया सम्बन्धी जानकारी नरहेको दाबी गर्दै, टेक्निकल सहयोगका लागि ‘हेल्प डेस्क’ नहुँदा समस्या भएको स्वीकार गरे।
यसैबीच, कम्पनी रजिस्ट्रार गिरी भने सर्भर समस्या र सेवाग्राही सास्तीबीच चीन भ्रमणमा छन्। सर्भर बनाउने कम्पनीका अनुसार कार्यालयको अनुरोधमा नयाँ फिचर थप्दा केही समय प्रणाली बन्द भए पनि अहिले प्रणाली सामान्य रूपमा सञ्चालनमा रहेको छ।












प्रतिक्रिया