संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा


काठमाडौं।

सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापक विजयबाबु रेग्मी र सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

यही असार २४ गते बिहान ९ः३० बजे संसद भवनको दक्षिण छतमा ड्रोन खसेको थियो। उक्त क्षेत्र उडान प्रतिबन्धित क्षेत्र भएकोले घटना प्रहरीको ध्यानमा आएको हो। प्रहरीले टेकस्पायर कलेजबाटै ड्रोन उडान भएको देखिएको र त्यसपछि संसद भवनमा खसेको जनाएको छ।

प्रहरीका अनुसार टेकस्पायर कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक र विद्यार्थीहरुलाई ड्रोन निर्माण र परीक्षणका लागि असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य दिएका थिए। सोही कार्यका क्रममा उक्त ड्रोन परीक्षण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।