काठमाडौं ।
दक्षिण एसियामा आतङ्कवादी गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै क्षेत्रीय सहयोग र एकताको आह्वान गरिएको छ। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नीस) ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एसियामा आतंकवाद क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक उच्चस्तरीय कार्यक्रममा पूर्व मन्त्री, सुरक्षाविज्ञ, सांसद, कूटनीतिज्ञलगायत वक्ताहरूले आतङ्कवादको प्रभाव, कारण र समाधानबारे आफ्ना धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले आतङ्कवाद अब केवल कुनै देशको मात्र समस्या नरहेर सम्पूर्ण क्षेत्रको साझा चुनौती भएको उल्लेख गरे। उनीहरूले यसविरुद्ध लड्न सबै देशहरूको सहकार्य अपरिहार्य रहेको बताए।
पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदले दक्षिण एसियामा आतङ्कवादी गतिविधि तीव्र गतिमा फैलिरहेको बताउँदै नेपाललाई पनि त्यसबाट सजग रहनुपर्ने अवस्था आएको उल्लेख गरे। उनले भारतको पहलगाममा हालै भएको आक्रमणमा एक नेपालीको मृत्यु, हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको निधन, र इराकमा भएको नेपाली हत्या आतङ्कवादसँग सम्बन्धित रहेको बताए।
पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालले सेप्टेम्बर ११ मा अमेरिकाको द्विन टावरमा भएको आक्रमणपछि आतङ्कवादविरुद्ध देखिएको वैश्विक एकता अहिले फेरि आवश्यक भएको उल्लेख गरे।

संघीय सांसद चन्दा चौधरीले अन्तरदेशीय आतङ्कवादको मूल जड अवैध वित्तीय कारोबार भएको बताउँदै यसलाई नियन्त्रण गर्न सके आतङ्कवादको आधार कमजोर पार्न सकिने बताइन्।
राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनील बहादुर थापाले लश्कर९ए९तैयबा र अल–कायदाबीचको सम्बन्ध नेपालका लागि पनि गम्भीर सुरक्षा चुनौती बन्न सक्ने उल्लेख गरे। उनले नेपाल ट्रान्जिटको रूपमा प्रयोग हुने जोखिम बढेको भन्दै सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।
नेपाली सेनाका पूर्व जनरल डा। पूर्ण सिलवालले आतङ्कवाद नियन्त्रणका क्रममा राष्ट्रहरूले दोहोरो मापदण्ड नअपनाउन आग्रह गर्दै सहकार्य र साझा रणनीति आवश्यक रहेको बताए।

पूर्व परराष्ट्र सचिव तथा राजदूत मधु रामन आचार्यले भारत–नेपालबीच गुप्तचर आदानप्रदान र सीमा क्षेत्रमा संयुक्त गस्ती आवश्यक भएको धारणा राखे। उनले आतंकवाद विरुद्ध नेपाल भारतको पक्षमा रहेको स्पष्ट पारे।
कार्यक्रममा नीसका अनुसन्धान निर्देशक डा। प्रमोद जैसवालले पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफद्वारा हालै दिएको अभिव्यक्ति उल्लेख गर्दै, पाकिस्तानले झण्डै तीन दशकसम्म अमेरिका, बेलायत तथा पश्चिमी देशहरूका लागि आतंकवादीहरूलाई समर्थन, वित्तीय सहायता र तालिम दिएको सार्वजनिक रूपमा स्वीकार गरेको बताए।
उक्त कार्यक्रममा वरिष्ठ राजनीतिक नेता, पूर्व मन्त्री, सुरक्षा विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र पत्रकारलगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया