स्वास्थ्य बिमामार्फत बिरामीलाई दोब्बर उपचार सुविधा


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अबदेखि दोब्बर उपचार सुविधा प्राप्त गर्ने घोषणा गर्नुभएको छ । मन्त्री पौडेलका अनुसार आगामी साउन १ गतेदेखि आठ जटिल रोगको उपचारमा बिरामीले हालको एक लाखको सट्टा दुई लाख रुपियाँसम्मको सहायता पाउनेछन् ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै भन्नुभयो कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडालाई मध्यनजर गर्दै, साउन १ गतेदेखि आठ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत दुई लाखको उपचार सुविधा प्राप्त गर्ने व्यवस्था गरेका छौं ।

यो सुविधा क्यान्सर, मुटु, मिर्गाैला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउनेछन् । यसअघि मन्त्री पौडेलले यस्ता जटिल रोगका बिरामीलाई राहत दिन उपचार खर्च बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएको थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मंगलवार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको जानकारी दिनुभयो । ‘यो निर्णय साउन १ गतेबाट लागू हुनेछ’ –उहाँले भन्नुभयो ।
स्वास्थ्य बिमाका पहुँच विस्तारका लागि मन्त्री पौडेलले विगतमा बिमा सदस्यले आफू बसोबास गरेको ठाउँबाटै सेवा लिन सक्ने नीतिगत निर्णय पनि गर्नुभएको थियो । उपचार सहायताको सीमा वृद्धिमात्र नभई बिमा कोषको दिगो विकासका लागि आम्दानी स्रोत बढाउने योजनासमेत अघि सारिएको छ ।

हालैको नीति तथा कार्यक्रमअनुसार सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्यरूपमा स्वास्थ्य बिमामा आबद्ध गराउने निर्णय भइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई समेत बिमामा समावेश गराउने प्रयास भइरहेको छ । मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न निकायले स्थानीय तहसम्म अभियान थालेका छन् ।

यसैबीच, सरकारले बजेटमार्फत बिमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा गरिसकेको छ । संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत हिस्सा बिमा कोषमा जाने निर्णय पनि भइसकेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने क्रममा बिमा बोर्डले अनियमित भुक्तानी लिने केही अस्पतालहरूमाथि कारबाही शुरू गरेको छ भने निगरानी प्रणाली पनि सुधार गर्दै गएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।यी सबै पहलहरूबाट बिमा कोषमा प्रिमियम र सदस्यताको दर वृद्धि हुने र बिमा कार्यक्रम दिगो रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।