चुनौतीको पहाड छिचोल्ने अवसर

त्रिविको २१औं उपकुलपतिमा अर्याल

2.44k
Shares

काठमाडौं ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको २१औं उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएको छ । चुनौतीको पहाडका बीच उपकुलपति नियुक्त हुनुभएका अर्याल लामो समयदेखि त्रिविको जल तथा मौसम केन्द्रीय विभाग पूर्वप्रमुखको हुनुहुन्थ्यो ।
उहाँ ३ महिने उपकुलपति प्राडा खड्ग केसीको कार्यकाल सकिन ८ दिनअघि उपकुलपति नियुक्त हुनुभएको हो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले उहाँलाई नियुक्ति गर्नुभएको हो । उपकुलपतिको अन्तिम प्रतिस्पर्धामा तीन जना थिए ।

प्राडा विनिल अर्याल र प्राडा खड्ग केसीलाई पछि पार्दै अर्याल नियुक्त हुनुभएको हो । तीनजनाको नाममध्येबाट प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो । २०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्यव्यङ्यकार एवं साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुनुहुन्छ । प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्ने दुई वर्षअघिको परम्परालाई तोड्दै कुलपति एवं प्रम ओलीले अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो । प्रतिस्पर्धामा रहेका केसी र विनिल अर्याल पनि एमाले निकट हुनुहुन्छ ।

दुई वर्षअघि नियुक्त प्राडा केशरजंग बरालले काम गर्न नसकी गत चैत १६ गते राजीनामा दिएर बाहिरिएपछि विश्वविद्यालय नेतृत्वविहीन थियो । बराललाई फकाउन तत्कालीन रेक्टर प्राडा खड्ग केसी र रजिस्टार केदार रिजाल बराल निवास पोखरा पुग्नुभएको थियो । दुई पदाधिकारीले गरेको आग्रहसमेत अस्वीकार गरेपछि उपकुलपति रिक्त थियो ।

नवनियुक्त उपकुलपति अर्यालसामु मुख्य गरी आंशिक शिक्षकलाई करार र करारमा कार्यरतलाई स्थायी गर्ने चुनौती छ । कर्मचारीको माग पनि त्यस्तै छ । वर्षौंदेखि अस्थायी, करार र ज्यालादारीका कर्मचारी स्थायी गर्ने विषय पेचिलो बनेको छ । विशेष गरी विश्वविद्यालयमा देखिएको तालाबन्दी स्थायी रूपमा बन्द गर्नुपर्ने चुनौती उपकुलपतिलाई छ । उहाँसँग चुनौतीको पहाड पार गर्ने सुनौलो अवसर मिलेको छ ।

राजनीतिले पूर्णरूपमा गाँजेको त्रिविलाई कसरी मुक्त गर्ने भन्ने विषय मुख्य चुनौती छ । त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनुपर्छ । त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेलमेट शिक्षक’लाई कसरी रोक्ने यो विषय उहाँका लागि चुनौती हो ।

समयसापेक्ष शुल्क समायोजन गर्ने, अनुगमनलाई तीव्रता दिने, त्रिविको सम्पत्तिको संरक्षण गर्ने, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको सुरुआत, आर्थिक पारदर्शीता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु उहाँको लागि चुनौती छ ।
शैक्षिक क्यालेन्डर लागू गर्ने, पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई विदेशिनबाट रोक्नु उहाँको चुनौती हो । यस्ता चुनौती समाधान गर्न सके उपकुलपतिको साख जोगिन सक्छ । विश्वविद्यालयको अध्ययन अध्यापन तथा प्रशासनिक कार्यमा प्रविधिको प्रयोग बढाउनुपर्छ । जनशक्तिलाई प्रविधि प्रयोगमा सहभागी गराउनुपर्छ । वार्षिक बजेटको हाराहारीमा बेरुजु छ । त्यसलाई घटाउँदै लैजानुपर्ने उपकुलपतिको चुनौती छ ।

सेवा प्रवाहमा सुधार हुन नसक्नु, शिक्षक र कर्मचारीहरूको सेवासुविधामा एकरूपता, सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता, भौतिक पूर्वाधार र सुविधाको विकास, संरक्षण र आधुनिकीकरण, सम्पत्ति संरक्षण आर्थिक अनुशासन कायम गर्नु उहाँको चुतौती हो । हिजो दिउँसो करिब साढे ४ बजे शपथ खानुभएका उहाँले हिजै पदबहाली गर्नुभएको थियो । उहाँलाई त्रिविका पदाधिकारी, महाशाखा, शाखा प्रमुख, शिक्षक सेवा आयोग, कर्मचारी संघ संगठनलगायतले स्वागत गरेका थिए ।


आज सिनेट

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक आज बिहीबार हुँदै छ । नवनियुक्त उपकुलपति दीपक अर्याललाई नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराएसँगैै सिनेट बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । यसअघि अघिल्लो उपकुलपति प्राडा केसीले २२ गतेलाई बैठक बोलाउनुभएको थियो । दैनिक काम चलाउन उपकुलपतिले सिनेट बैठक डाक्न नहुने कानुनी प्रश्न उठेपछि कुलपति एवं प्रम ओलीले अघिल्लो दिन अर्थात् असार २१ गते बैठक स्थगित गर्न निर्देशन दिनुभएको थियो