उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हा र सिवाई जोड्ने त्रियुगा नदीमा बनेको भत्केको पुल मुनि भुमरी परेको दहमा नुहाउन जाँदा एक जनाको ज्यान गएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं ६ सिर्वानी घर भएका ३० वर्षका सुरज राई साथीहरुसँग अत्यधिक गर्मी भएका कारण सोमबार साँझ त्रियुगा नदकिो भाँचिएको पुलमुनि भुमरी परेको दहमा नुहाउन गएकोमा दहमा डुबेर उनी बेपत्ता भएका थिए ।
सोमबार इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले र स्थानीयले खोजलास गर्दा फेला नपरेपछि मंगलबार सशस्त्र प्रहरीको गोताखोर टोलीले खोज तलास गर्दा विहान साढे दस बजेतिर भुमरी दहमा राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक राईसँगै सो नदीमा नुहाउन अन्य दुई जना साथीहरु प्रताप राई र सुरेश माझीसँग गएको र नुहाउँदा नुहाउँदै राई दहमा बेपत्ता भएपछि साथीहरुले खोजी गरेकोमा फेला नपरेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरेर राती अबेरसम्म खोजी गरेको थिए ।
दिउँसो ४ बजेतिर नै सो नदीमा अन्य दुई जना साथीहरुसँग नुहाउन गएका राई माछा मार्दै नुहाउँदै गरेकोमा माछा मार्दा मार्दै भुमरी परेको दहमा पसेपछि निकैबेरसम्म पनि बाहिर ननिस्केपछि उनको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार नै मृतकको पोष्टमार्टम गरिएको र आफन्तलाई सद्गत गर्न जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया