काठमाडौं ।
नेपाल वायुसेवा निगमले निगमको सम्बन्धमा एक विद्युतीय समाचार माध्यममा प्रकाशित भएको ‘वाइडबडी इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता’शीर्षकको समाचार तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य भएको तथा यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ । निगमले उक्त समाचारबाट आम जनमानमा सिर्जना भएको भन्दै मंगलवार एक विज्ञप्ति जारी गर्दै उक्त समाचार असत्य भएको दाबी गरेको हो ।
निगमका प्रवक्ता सुवास डाँगी र प्राविधिक प्रवक्ता मनोज कुमार साहद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार सञ्चालनरत २ वटा वाइडबडी विमानहरूको चारवटै इन्जिनहरू निकट भविष्यमा मर्मत सम्भार अनिवार्य रूपमा गर्नुपर्ने हँुदा सोका लागि कार्यकारी अध्यक्षले क्याम विभागका निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा टेन्डर प्रक्रियाको लागि एक उपसमिति बनाई काम भइरहेको र मर्मत सम्भारजस्तो जटिल प्रकृतिको प्राविधिक विषय एवं मर्मतका लागि प्राविधिक जानकारी संकलन, मर्मत कार्यको समय र लागत आँकलन तथा बजार व्यवस्थापनको तयारी गर्नमात्र उक्त छलफल गरिएको जनाएको छ ।
इन्जिनहरूको मर्मत कार्यमा ठूलो धनराशीको लगानी आवश्यक हुने हुँदा अनुभव संकलन तथा प्राविधिक पक्षहरूको जानकारीका लागि समेत निर्माता कम्पनीसँग सरसल्लाह गरी परिपक्व निर्णय लिई टेन्डर प्रक्रियामा जान सहज हुने निक्र्यौल निकालिएकाले त्यस सम्बन्धमा बुझ्न निगमको टोली सिंगापुर गएको र अन्य व्यावसायिक कार्यहरू पनि जोडिएकाले मलेसियास्थित विभिन्न निकायमा छलफल एवं बैठक गरिएको निगमले जनाएको छ ।
विज्ञप्तिमा ठूलो लगानीको इन्जिन मर्मत जस्तो जटिल र समय लाग्ने प्राविधिक कार्यलाई टेन्डर प्रक्रियामा रहेको उपसमितिलाई समेत आवश्यक पर्ने महत्वपूर्ण प्राविधिक विषय एवं खरिद योजना र लागत अनुमानलगायतका प्राविधिक विषयवस्तु समेट्ने प्रायोजनको लागि भएको ओइएमसँगको छलफललाई बद्नियतसाथ छापामा ल्याउनुले निगमको पारदर्शी कर्मको समेत मानमर्दन गरिएको भन्दै आपत्ति जनाइको छ । निगमले यस प्रकारका भ्रामक सूचनालाई विश्वास नगर्न सम्पूर्ण नागरिक तथा सरोकारवालालाई आग्रह गरेको छ ।











प्रतिक्रिया