७ को मृत्यु, २० बेपत्ता, ५५ को उद्धार

बाढीले रसुवागढी क्षतविक्षत

3.01k
Shares

–तिब्बती क्षेत्रमा रहेको हिमताल फुटेको आशंका

रसुवा ।

मंगलवार बिहान करिब सवा ३ बजे एकाएक आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म ७ जनाको शव भेटिएको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।हराइरहेकामध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । प्रहरीका अनुसार उद्धार कार्य जारी रहेको छ भने ५५ जनाको सकुशल उद्धार गरिसकिएको छ ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाईंकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५) उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिकाको वडा नं. १ रहेका छन् ।बेपत्ता हुने प्रहरीहरूमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ रहनुभएको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन् ।

त्यसै गरी बेपत्ता हुने ११ नेपाली नागरिकहरूमा बर्दियाका ३६ वर्षीय जिपन चौधरी, सोही जिल्लाका ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू, ३० वर्षीय सुरेश थारू, बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क., सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा, ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान, ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका–६ का डीलबहादुर तामाङ र सोही ठाउँका धनबहादुर तामाङ रहेका छन् ।

बाढीबाट बेपत्ता हुने ६ जना चिनियाँ नागरिकहरूमा चिनियाँ पुरुषहरू यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ रहेका छन् ।रसुवा जिल्लाको गोसार्इंकुण्ड गाउँपालिका वडा नम्बर २ रसुवागढीमा अचानक बाढी आउनुको कारण तिब्बती क्षेत्रमा रहेको थुप्रै हिमतालहरू फुटेको कारण हुनसक्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार बाढीको सम्भावित कारण पत्ता लगाउन तिब्बत क्षेत्रमा बाढीको असर आँकलनका लागि मंगलवार बिहान ९ बजे नै सेन्टिनेल एसिया प्लेटफर्ममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न ईमर्जेन्सी अब्जरभर्सन रिक्वेस्ट जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुख्खा बन्दरगाह क्षेत्रमा १ सयभन्दा बढी गाडी बगेका छन् । यसरी बगेकामध्ये अधिकांश मालसामान बोकेका सवारीसाधन रहेका छन् । ईभी गाडी अलि पर रहेकाले कम क्षति पुगेको छ । यार्डमा २ सय ३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडी राति नै सडकमा सारिएको थियो ।

रसुवाका साहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार मंगलवार बिहान करिब सवा ३ बजेतिर लेदोसहितको बाढी आउँदा क्षति पुगेको हो । गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिराले करिब ९ देखि १० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्वार र राहत कार्यमा धेरै नै कठिनाइ भएको थियो । स्याफ्रुबेसी रसुवागढी सडकखण्ड अहिले पूर्णरूपमा अवरुद्ध भएको छ । त्रिशूली नदीमा आएको बाढीले विद्युत् प्राधिकरणको २ सय मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

कस्तो थियो मौसम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार त्यति ठूलो बाढी आउने गरी पानी नपरेको र बाढीले पुर्‍याएको क्षति नेपाली भूभागमा परेको पानी नभई छिमेकी चीनमा ठूलो वर्षा भएकाले वा बाँध फुटेर बाढीको रूप लिएको हुनसक्ने आशंका गरिएको छ । विभागका अनुसार रसुवाको धुन्चेमा रहेको म्यानुल स्टेसनमा सोमबार बिहान ३९.४ मिलिमिटर वर्षामात्र भएको रेकर्ड छ । यति वर्षाले यति ठूलो बाढी आउँदैन ।

स्याफ्रुबेसीमा रहेको बाढी मापन उपकरणसमेत बग्यो

बाढी पूर्वानुमान महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार स्याफ्रुबेसिमा मंगलवार बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । त्यसपछि बाढीले मापन गर्ने उपकरण नै बगाएका कारण थप तथ्यांक प्राप्त हुन सकेन । यस्तै बेत्रावती नदीमा मंगलवार बिहान ५ बजे पानीको सतह १.६ छ मिटरमात्र थियो तर, ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वातै बढेर ४.१८ मिटर पुगेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागले टिमुरेमा जडान गरेको बाढी मापन केन्द्र भने हाल बन्द अवस्थामा भएकोले त्यताको कुनै जानकारी नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोला छेउछाउका स्थानीय त्रसित

मंगलवार बिहान तिब्बतको लेन्दे खोलाबाट आएको बाढीका कारण छेउछाउका बासिन्दारू त्रसित बनेका छन् । टिमुरे घट्टेखोला स्याफ्रुबेसी हाकुबेसी,खाल्टे बगर वेत्रावती आसपासका मानिसहरू रहेका छन् । यी क्षेत्रमा स्थानीय प्रहरी प्रशासनले उच्च सर्तकता अपनाउनसमेत आग्रह गरेको छ ।

रसुवागढीको स्थलगत निरीक्षणमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले मंगलवार क्षतिग्रस्त रसुवागढीको स्थलगत निरीक्षण गर्नुभएको छ । यसै गरी मुख्य सचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिक्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र अर्थ सचिव घनश्याम उपाध्याय भन्सार विभागका महानिर्देशक महेश भट्टराईसमेतले त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

बाढीले रसुवापट्टि क्षति पुर्‍याएको बेला रसुवाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख गृहमन्त्रालयले आयोजना गरेको वागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि काठमाडौंमा हुनुहुन्थ्यो । यो घटना भएपछि उहाँहरू तत्काल काठमाडौंबाट रसुवागढी फर्कनुभएको थियो ।
वागमती प्रदेशका मुख्य मन्त्रीबहादुर सिंह लामा पनि बाढीबाट क्षति भएको ठाउँको स्थलगत निरीक्षणका लागि नुवाकोट र रसुवागढी पुग्नुभएको थियो भने संघीय सांसद ई. मोहन आचार्यसहितका शीर्ष नेताहरूले पनि रसुवागढीको स्थलगत निरीक्षण गर्नुभएको थियो ।