गुल्मीमा मनसुन सक्रिय, २२ हजार नागरिक प्रभावित हुने जोखिम


गुल्मी ।

मनसुन सक्रिय भएसँगै जिल्लामा पहिरो, बाढी र डुबानजस्ता प्राकृतिक विपद्को जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले तयार पारेको जोखिम मूल्याङ्कन अनुसार करिब २२ हजार नागरिक विपद्बाट प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मंगलबार जिल्ला सुरक्षा निकाय, रेडक्रस, गैरसरकारी संस्था र पत्रकारसँग विपद् पूर्वतयारीका विषयमा छलफल गरेका छन्। यस वर्ष पहिरो र बाढीको सम्भावना उच्च भएकाले जनधनको सुरक्षा र उद्धार तथा राहत कार्यमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।

जिल्लाका १२ स्थानीय तहका उच्च पहाडी क्षेत्रहरूमा जोखिम बढेसँगै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। विपद् व्यवस्थापन समितिले आपतकालीन उद्धार र राहत योजना तयार गरी सुरक्षा निकायसहित अन्य संस्था र स्वयंसेवकसँग सहकार्य गर्दै आएको छ।

हालसम्म पाँच घरमा क्षति पुगेको छ भने, जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण र राहत सामग्रीको व्यवस्थापनको काम तीव्र बनाइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत उद्धारमा तत्काल परिचालनका लागि तयार छन्।

सशस्त्र प्रहरी वल गुल्मले चन्द्रकोट गाउँपालिकामा अस्थायी क्याम्प स्थापना गरी उद्धार तयारीमा छ। प्रशासनले नागरिकलाई मौसम पूर्वानुमान र सरकारी सूचनामा ध्यान दिन, जोखिमयुक्त स्थानमा नबस्न र आकस्मिक अवस्थामा नजिकको प्रशासन वा सुरक्षा निकायसँग सम्पर्क गर्न चेतावनी दिएको छ।

सूचनाको प्रभावकारी आदानप्रदानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जाल, मोबाइल एसएमएस, सूचनापाटी र माइकिङ प्रयोगमा राखिएको छ। मनसुन अझै केही महिना सक्रिय रहने भएकाले जिल्लाले नागरिकमा संयमता, सतर्कता र सहकार्यको आह्वान गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेले संकटको बेला यी तीन तत्व नै जीवन र सम्पत्तिको रक्षा गर्ने उपाय भएको बताए।