काठमाडौं।
भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका गरी २४० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्णरूपमा बन्द भएका छन्। बाढीका कारण प्राधिकरण तथा सहायक कम्पनीहरूका २३० मेगावाट र निजी क्षेत्रका १० मेगावाट बराबरका आयोजना प्रणालीबाट बाहिरिएका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा भएको छ। बाढीले आयोजनाको बाँध र गेट स्ट्रक्चर बगाएको छ भने पुलसमेत चर्किएको हुँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यको भनाइ छ ।
त्यस्तै बाढीबाट ६० मेगावाटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षति भएको छ। आयोजनाको एउटा गेट बगाएको छ भने भवनमा बाढी पसेको छ। यद्यपि सिभिल स्ट्रक्चरमा धेरै क्षति नभएको शाक्यको दाबी छ।
यसैगरी २२ मेगावाट क्षमताको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। चिलिमे हाइड्रोपावरको टेलरेसतर्फबाट टर्बाइनसम्म पानी पसे पनि मुख्य संरचनामा ठूलो क्षति नपुगेको जनाइएको छ। प्राधिकरणका अनुसार यी आयोजनासँग सम्बन्धित प्रसारण लाइनहरू पनि करिब २३० मेगावाट क्षमताका अवरुद्ध भएका छन्।
शाक्यका अनुसार, त्रिशूली नदी आसपासका सबै जलविद्युत् आयोजनाहरू हालका लागि बन्द छन्। देवीघाट जलविद्युत् आयोजना चाँडै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने चिलिमे पनि लेदो सफा गरेपछि उत्पादनमा फर्कने अपेक्षा गरिएको छ। रसुवागढी र त्रिशूली–३ ए जस्ता ठूला आयोजना भने पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने शाक्यले बताए। ‘अहिले बाढीको पानी घट्नासाथ वास्तविक क्षतिको मूल्यांकन हुनेछ र निर्माण तथा मर्मत कार्य अघि बढाइनेछ।’ शाक्यको भनाइ छ । बाढीले निजी क्षेत्रबाट सञ्चालित १० मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको जनाइएको छ ।











प्रतिक्रिया