रसुवामा बाढी : ७ जनाको शव भेटियो, २० जना बेपत्ता


तस्बिर साभार : रेडियो लाङटाङ

रसुवा।

उत्तरी छिमेकी चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना बेपत्ता रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

बेपत्तामध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना नेपाली सर्वसाधारण रहेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ र हालसम्म ५५ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू:
गोसाइँकुण्ड गाउँपालिका वडा नं. १, २, ३

आमाछोदिङ्मो गाउँपालिका वडा नं. १, २, ४, ५

उत्तरगया गाउँपालिका वडा नं. २, ४, ५

कालिका गाउँपालिका वडा नं. १

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यस्तै, ईभी चार्जिङ स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा पनि ठूलो क्षति पुगेको छ।

रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको र थप सतर्कता अपनाइएको छ।

त्यस्तै, बाढीका कारण गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ। धुन्चेबाट टिमुरेसम्मको सडक खण्ड चर्किएर सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।