रसुवा बाढी :   ठाउँ-ठाउँमा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिन


रसुवा। 

रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको  ‘नौ/दश ठाउँमा बाटो भत्किएकाले उद्धार र राहतमा ठूलो समस्या भएको भएको छ। गोसाईंकुण्ड गाउँपालिकाका  अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढी र पहिरोले ९/१० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको बताएका छन् ।
मंगलबार बिहान करिब तीन बजे एकाएक आएको भीषण बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको हो ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले  नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्णरूपमा बगाएको छ ।

अध्यक्ष तामाङले भने, ‘नौ/दश ठाउँमा बाटो भत्किएको छ । यसले हामीलाई उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’

बाढीले ड्राइपोर्टमा राखिएका इलेक्ट्रिक गाडीहरू बगाएको र १५ जना हराइरहेको उनले बताए । जसमध्ये तीन जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन् । उनकाअनुसार हालसम्म ९ जनालाई उद्धार गरिएको छ, तर प्रतिकूल मौसमले उद्धार कार्यलाई जटिल बनाएको छ ।

स्थानीय बस्तीमा भने अहिलेसम्म बाढी नपसे पनि खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा ठूलो क्षति भएको उनले बताए ।
अध्यक्ष तामाङले आफूले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको र स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताए ।
‘बाढीको जोखिम अझै छ, माथिल्लो क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले सबैलाई सतर्क रहन भनेका छौं,’ उनले भने।