काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाको पूर्व उपमेयर रेणुदेवी झासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
पीपीसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर झासहित ९ जनाविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । नगरको वडा–५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीपीसी ढलान योजनामा टुक्रा टुक्रा पारी रकम भुक्तानी गर्ने क्रममा भ्रष्टाचार गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार पूर्वउपमेयर झा, प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा र देव कन्स्ट्रक्सन तथा उक्त कम्पनीका प्रोप्राइटर शुभचन्द्र मण्डलविरूद्ध मुद्दा चलाइएको हो ।
२०७६÷७७ को नगर सभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पीपीसी ढलान गर्न १ करोड रुपियाँ विनियोजन गरिएको अनुसन्धानमा खुलेको छ । सोही योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा उनीहरूले ७ लाख ८१ हजार ८ सय १८ रुपियाँदेखि ५२ लाख ७२ हजार १ सय ६८ रुपियाँ हिनामिना गरेको आयोगले जनाएको छ ।











प्रतिक्रिया