मुल्डरले लाराको कीर्तिमान तोड्ने कोसिस गरेनन्

३३ रनले पछि परे


लन्डन, (एजेन्सी)

दक्षिण अफ्रिकाका विआन मुल्डरले आफुले नै इनिङ समाप्तिको घोषणा गरेर ब्रायन लाराको कीर्तिमान तोड्ने अवसर गुमाएको छ ।
जिम्बावेविरुद्धको दोस्रो टेस्टमा कार्यबाहक कप्तान मुल्डरले लाराको कीर्तिमान तोड्न ३३ रन मात्रै जोड्न बाँकी थियो । तर, २७ वर्षीय ब्याटरले कीर्तिमानको बेवास्ता गर्दै बुलावायोमा जारी टेस्टको पहिलो इनिङ समाप्तिको घोषणा गरे ।

लन्चसम्म उनी ३ सय ६७ रनमा नटआउट थिए । उनको लागि वेस्ट इन्डिजका दिग्गज ब्याटर लाराको पछिल्लो २१ वर्षदेखि सुरक्षित भइरहेको कीर्तिमान तोड्ने अवसर थियो । दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ६ सय २६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

लाराले सन् २००४ मा एन्टिगामा इंग्ल्यान्डविरुद्धको खेलमा नटआउट रहँदैं ४ सय रन बनाएर टेस्टमा उच्चतम व्यक्तिगत रन बनाउने कीर्तिमान रचेका थिए । उनले अस्टे«लियाका ब्याटर म्याथ्यु हेडनको ३ सय ८० रनको व्यक्तिगत उच्चतम रनको कीर्तिमान तोडेका थिए ।

यसअघि हेडनले लाराकै ३७५ रनको व्यक्तिगत उच्चतम रन तोडेका थिए । लाराले १९९४ मा इंग्ल्यान्डविरुद्धको टेस्टमा उक्त कीर्तिमान राखेका थिए । हेडनले ९ वर्षपछि पर्थमा जिम्बावेविरुद्धको टेस्टमा ३ सय ८० बनाएर लाराको कीर्तिमान तोडे । तर, लाराले यसको ६ महिनामै फेरि यो कीर्तिमान आफ्नो नाम गरे ।

दिग्गजलाई सम्मान

मुल्डरका लागि लाराको कीर्तिमान तोडेर टेस्ट क्रिकेटमा नयाँ आयाम थप्ने अवसर थियो । तर, उनले लाराको सम्मान गर्दै ३ सय ६७ रनमै इनिङ घोषणा गरेको बताए । दोस्रो दिन खेल्न समय दिनभरि नै थियो ।

यसअघि मार्क टेलरले पनि अस्टे«लियाका दिग्गज ब्याटर डन ब्राडम्यानको कीर्तिमान तोड्ने अवसर छाडेका थिए । सन् १९९८ मा अस्टे«लियाली कप्तान टेलरले पाकिस्तानविरुद्ध ३३४ रनमा नटआउट हुँदैं इनिङ समाप्तिको घोषणा गरेका थिए । उनले ब्राडम्यान बराबरी रन बनाएका थिए । हेडनले ५ वर्षपछि उनीहरूको कीर्तिमान तोडेका थिए ।

टेस्ट क्रिकेटमा ५ व्यक्तिगत उच्चतम रन

–४०० रन ब्रायन लारा (वेस्ट इन्डिज) इंग्ल्यान्डविरुद्ध २००४

–३८० रन म्याथ्यु हेडन (अस्टे«लिया) जिम्बावेविरुद्ध २००३

–३७५ रन ब्रायन लारा (वेस्ट इन्डिज) इंग्ल्यान्डविरुद्ध १९९४

–३७४ रन माहेला जयवद्र्धने (श्रीलंका) दक्षिण अफ्रिकाविरुद्ध २००६

–३६७ रन विआन मुल्डर (दक्षिण अफ्रिका) जिम्बावेविरुद्ध २०२५