मेसी साउदी लिग जाने सम्भावना


पेरिस, (एजेन्सी)

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेसीले साउदी अरेबियन टोली अल अहलीसँग कुरा गरेको फ्रान्सको एक अखबारले बताएको छ । सो अखबारको अनुसार ३८ वर्षीय मेसी साउदी लिगमा जाने सक्ने संभावना प्रबल रहेको छ ।

इन्टर मायामीमा मेसीको सम्झौता अवधि एक महिना मात्रै बाँकी छ । अमेरिकी क्लब इन्टर मायामीले उनीसँग अर्को एक वर्षको नयाँ सम्झौता गर्ने योजनामा रहेको पनि बताइएको छ । २०२३ मा इन्टर आएका मेसीले सो क्लबका लागि केवल ६४ खेलमा ५२ गोल र २५ असिस्ट गरेका छन् । उनी सन् २०२३ मा इन्टरमा अनुबन्ध भएका हुन् ।

यसअघि उनलाई अल हिलालले वार्षिक ४ सय मिलियन डलरको प्रस्ताव राखेको थियो । जसलाई उनले अस्विकार गरेपछि अल हिलालले ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गरेको थियो । हाल नेयमार उक्त क्लब छाडेर उनकै देशको क्लब सान्तोसबाट खेलिरहेका छन् ।

मेसीले गत मार्चमा टाइम म्यागेजिनलाई साउदी लिग जाने सोचिरहेको बताएका थिए । उनले भनेका थिए—म साउदी लिग जानेबारे सोचिरहेको थिएँ । राष्ट्र र उनीहरूले लिगलाई भविष्यमा महत्वपूर्ण लिग बनाउन ज्यादै शसक्त प्रतिस्पर्धाको सिर्जना गरिरहेका छन् । राष्ट्रको पर्यटन राजदूतको रूपमा यो एउटा यस्तो गन्तव्य थियो जसले मलाई आकर्षित ग¥यो । विशेष गरी किनभने मैले भ्रमण गर्दा सबै कुराको आनन्द लिएको छु । साउदीमा फुटबलको उन्नति भइरहेको छ । मलाई साउदी अरेबिया वा एमएलएस दुबै विकल्पको रूपमा धेरै रोचक लाग्छ ।

रोनाल्डोसँग प्रतिस्पर्धा हुने

यदि, अल अहलीमा आबद्ध भएमा मेसीले रोबेर्टो फिर्मिनो, रियाद माहरेज, एडुआर्ड मेन्डी र इभान टोनीसँगैं खेल्नेछन् । अर्को रोचक विषय हो पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग फेरि एकपटक प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना हुनेछ । यसअघि यी दुई विश्व स्तरीय फुटबलरहरूले स्पेनी ला लिगामा प्रतिस्पर्धा गरिसकेका थिए । साउदी लिगमा रोनाल्डोले अल नासरबाट खेलिरहेका छन् ।