उदीयमान पोर्चुगिज फुटबलर जोटाको निधन

1.97k
Shares

स्पेनको उत्तर–पश्चिमस्थित प्रान्त जामोरामा बिहीबार गाडी दुर्घटना हुँदा पोर्चुगलका फुटबलर डियोगो जोटाको २८ वर्षको उमेरमै निधन भएको छ । सो गाडीमा सवार उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भाको पनि निधन भएको थियो । आन्द्रे पनि पोर्चुगलको दोस्रो श्रेणी क्लब पेनाफिलका व्यवसायिक फुटबलर थिए ।
गार्डिया सिभिलले बीबीसी स्पोर्टलाई जानकारी गराएअनुसार उनीहरूको गाडी ल्याम्बोर्गिनीले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा टायर फुटेर सडक छोडेको र त्यसपछि आगो लागेको बताइएको थियो ।

११ दिनअघि मात्रै जोटा र उनकी लामो समयदेखि पार्टनरमा रहेकी रुट कार्डोसो बीहेबन्धनमा बाँधिएका थिए । उनीहरूका तीन सन्तान छन् । उनले जुन २२ मा भएको बीहेको भिडियो उनको सामाजिक संजालमा बुधबार पोस्ट गरेका पनि थिए ।

जोटाको फुटबल करिअर क्लब र राष्ट्र दुबैतर्फ राम्रो भएको थियो । हालै मात्र लिभरपुलले प्रिमियर लिग र उनको राष्ट्रिय टोली पोर्चुगलले यूईएफए नेसन्स लिग उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

लिभरपुलमा २०२० देखि खेलेका उनी क्लबबीच र समर्थकबीच नायकको रूपमा उभिएका थिए । उनको खुबी देखेर नै उनको लागि एउटा गीत गाइयो । जसमा पोर्चुगिज महान लुइस फिगोको सन्दर्भ पनि समावेश थियो ।
गीत यस्तो थियो—“ऊ पोर्चुगलका मनपर्ने केटा हो, फिगो भन्दा राम्रो, तिमीलाई थाहा छैन, ओह, उसको नाम डियोगो हो!“

डियोगो जोटाको फुटबल करिअर

-पोर्चुगलको सुन्दर दोस्रो शहर पोर्टोमा डिसेम्बर १९९६ मा जन्म भएको ।

-उनको जन्मको नाम डियोगो जोसे टेक्सेरा दा सिल्भा थियो । उनले आफ्नो थर त्यागेर जोटा प्रयोग गरेका थिए ।

-१६ वर्षको उमेरमा तल्लो लिग क्लब पाकोस डे फेरेराबाट करिअर शुरु भएको ।

-२०१५ मा मुटुको समस्या देखाउँदा जोटाको करियर सुरु हुनुभन्दा अगाडि नै सकिने संकेत भएको थियो । तर, उनले यसलाई जितेर अघि बढे ।

-१९ वर्षको हुँदा २०१६ मा स्पेनी महारथीमध्ये एक टोली एटलेटिको मेड्रिडमा अनुबन्ध भएको ।

-२७ खेलमा आठ गोल गरेर चर्चामा आएपछि उनलाई वुल्भ्सले लोनमा अनुबन्ध गरेको ।

-उनका १७ लिग गोलले वुल्भ्सलाई प्रिमियर लिगमा बढुवा हुन सहयोग भयो । १२ मिलियन पाउन्डमा क्लबमै स्थापित भएको । -अर्को सिजनमा वुल्भ्स सातौं स्थानमा रहेर युरोपा लिगको लागि छनोट भयो ।

-युरोपा लिगमा उनले टर्कीको टोली बेसिक्टासविरुद्ध सब्सीच्युट हुँदै ११ मिनेटमा ह्याटिक गरेको ।

-सेप्टेम्बर २०२० मा लिभरपुलले उनलाई ४५ मिलियन पाउण्डमा किन्यो ।

-लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गर्न सफल ।

–लिभरपुलबाट एफए कप (२०२२) र दुई ईएफएल कप (२०२२ र २०२४) मा विजेता बनेको ।

–पोर्चुगलका लागि ४९ खेलमा १४ गोल गरेको ।