भक्तपुर फिस टनेल एक्स्पोमा ३० हजारभन्दा बढीको अवलोकन, विद्यालयलाई विशेष छुट


भक्तपुर।

भक्तपुरमा जारी ‘फिस टनेल एक्स्पो’मा अहिलेसम्म ३० हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको आयोजकले जनाएको छ। जलजीवप्रति बालबालिकाको चासो, पारिवारिक मनोरञ्जन र स्थानीय पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको उक्त एक्स्पो साउन १० गतेसम्म सञ्चालन हुनेछ।

औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५, राधेराधेमा असार ६ गतेदेखि संचालनमा ल्याएको यो कार्यक्रम विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक अवलोकनमा ल्याउनेहरूलाई विशेष छुट दिने व्यवस्था मिलाइएको छ।

आयोजक संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार, “फिस टनेल एक्स्पोको प्रमुख आकर्षण ‘फिस टनेल’ हालसम्म नेपालमा निर्माण भएको सबैभन्दा ठूलो अवलोकन टनेल हो।”

१६० प्रजातिका माछाको अवलोकन

भारत हुँदै नेपाल ल्याइएका समुद्री जीवहरूको संग्रहमा १६० प्रजातिका दुर्लभ र रंगीन माछाहरू रहेका छन्, जसलाई नेपालमा दोस्रोपटक सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको हो।

फिस टनेलसहित मनोरञ्जन र फुड स्टल

एक्स्पो परिसरमा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेल, फुड स्टल तथा अन्य पारिवारिक गतिविधिहरू पनि उपलब्ध छन्। आयोजकका अनुसार पारिवारिक घुमफिर तथा विद्यार्थीको शिक्षामूलक अवलोकनलाई ध्यानमा राख्दै कार्यक्रमलाई समावेशी र जानकारीमूलक बनाइएको हो।