‘कुलिङ पिरियड’ प्रकरण : संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार


काठमाडौं ।  

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् ।

साेमवारकाे कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसकाे जानकारी गराएका हुन् । उनका अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियारकाे संयाेजकत्वकाे साे समिति गठन गरिएको हो ।  

 प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । साे समितिले २१ दिनकाे समय सीमा पाएको छ । 

 सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली कांग्रेसवाट जीवन परियार र सुशिला थिंग, एमालेवाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपावाट रोशन कार्की तथा माओवादीबाट माधव सापकाेटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् ।  

 संघीय निजामती सेवा बिधेयकमा सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिबेदन पेश गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरामाथि छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।