काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच आइतबार बालुवाटारमा एकल (वान टु वान) भेटवार्ता भएको छ। करिब एक घण्टा लामो वार्तामा संघ र प्रदेश सरकारसँगको सत्ता सम्बन्धका विषयमा गम्भीर छलफल भएको चौधरीको सचिवालयले जनाएको छ।
भेटका क्रममा चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बिना स्पष्ट कारण पदमुक्त गरिएको विषयमा गुनासो व्यक्त गरेका थिए। उक्त घटनापछि नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसको भोलिपल्ट शनिबार पार्टीले संघीय सरकारबाट समेत समर्थन फिर्ता लिने निर्णय लिएको थियो। प्रधानमन्त्रीसँगको भेटमा यसबारे पनि विस्तृत छलफल भएको बताइएको छ। प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि परामर्श गर्ने बताएका छन्।
यसबीच, संघीय सरकारमा नागरिक उन्मुक्तिका तर्फबाट राज्यमन्त्री रहेका अरुण चौधरीले आइतबार राजीनामा दिनुपर्ने तयारी गरेका थिए। तर, प्रधानमन्त्री अबेरसम्म कार्यलयमा नफर्किएकाले राजीनामा बुझाउन नसकिएको र सोमबार बुझाउने तयारी रहेको स्रोतले जनाएको छ।
आइतबार नै कांग्रेस सभापति देउवाको सन्देश लिएर सुदूरपश्चिमका मुख्यमन्त्री शाह रेशम चौधरीको बर्दियास्थित निवासमा पुगेर भेटेका थिए। यो भेटलाई सत्ता समीकरण मिलाउने प्रयासका रूपमा हेरिएको छ।











प्रतिक्रिया