काठमाडौं ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा भएको एकै परिवारका चार जनाको सामूहिक हत्या घटनाले स्थानीय समुदायलाई स्तब्ध पारेको छ । ससुराली घरमा गएका राजेन्द्र राईले सासू, ससुरा, पत्नी र सालीको छुरा प्रहार गरेर हत्या गरेका हुन् ।
शनिवार राति करिब ११ बजेतिर घटना घटेपछि उनी स्वयंले सवा १ बजेतिर प्रहरी कन्ट्रोल रूममा फोन गरी हत्या गरेको स्वीकारेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले फोनमा भनेका थिए– ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ हत्या भएका व्यक्तिहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया पत्नी मञ्जु गिरी, छोरी १६ वर्षीया मनीषा गिरी (आरोपित राईकी पत्नी) र १० वर्षीय छोरा सपन गिरी रहेका छन् । चारै जनाको शव उनीहरूको घरमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हत्या गरिसकेपछि केही टाढा भागेका आरोपित राईलाई करिब ४–५ किलोमिटर टाढा रहेको हर्बुभञ्ज्याङ भन्ने स्थानमा प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो । उनको पेटमा छुरा प्रहारको चोट देखिएको र रगताम्ये अवस्थामा रहेकाले जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनाको सूचना पाउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक खवास र जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटिएको थियो । घटनास्थलमा पुगेको टोलीले चारै शव फेला पारेको थियो ।
आरोपी राईले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन्– ‘सबै जना सुतिरहेका थियौं । सल्याङबल्याङ आवाज आएपछि म ब्युँझिएँ । सासूले मलाई पेटमा छुरा प्रहार गरिन् । मैले छुरा खोसेर प्रहार गरेँ ।’ प्रहरीले यो बयानलाई शंकाका साथ हेरेको छ र घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ ।
पारिवारिक मनमुटाव
राई भोजपुर नगरपालिका–२, हेलौंछाका बासिन्दा हुन् । उनी करिब ६ दिन अघिमात्रै ससुराली गएका थिए । सासू मञ्जु गिरीले झन्डै डेढ महिनाअघि आफ्नी छोरी मनीषालाई माइत लगेकी थिइन् । पारिवारिक मनमुटाबका कारण उनीहरू अलग बसिरहेका थिए भन्ने बुझिएको छ । यही मनमुटाबकै कारण घटनाले चरम रूप लिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यस घटनाले भोजपुरको स्थानीय समाजलाई गहिरो आघात पुर्याएको छ । घटनालाई लिएर गाउँमा भय र त्रास फैलिएको छ ।
प्रहरी अहिले घटनास्थलको मुचुल्का, शव परीक्षण, छुरा फोरेका कोण र हत्या क्रमबारे गहिरो अनुसन्धानमा जुटेको छ । घटनाको गाम्भीर्य हेर्दा आरोपित मानसिक तनावमा थिए वा पहिलेबाट योजनाबद्ध रूपमा हत्या गरे भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।











प्रतिक्रिया