हुम्ला ।
हिमाली जिल्ला हुम्ला २६ वर्षपछि बल्ल राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै अब ७७ जिल्लामा नै सडक पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खार्पुनाथ गाउँपालिका–५ स्थित जुवा खोलाको कर्णाली नदीमा रहेको बेलिब्रिज उद्घाटनपछि हुम्लीहरुको सपना पूरा भएको छ । खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्नपछि विधिवत्रुपमा प्रधानमन्त्री ओलीले बेलिब्रिजको उद्घाटन गर्नुभएको छ ।
ठूला ट्रक र टिप्परसहितका सवारीसाधन अबदेखि नेपालगन्जमा रहेको जमुनाहादेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको उत्तरी तिब्बत हिल्सा नाकामा नियमित वारपार हुने भएका छन् । हुम्ला सदरमुकाम सिमकोटमा गाडी सञ्चालनमा आएपछि यहाँका व्यवसायीलाई सहज भएको छ । हवाई माध्यमबाट ढुवानी हुँदै आएको सामग्रीभन्दा गाडीले ढुवानी गर्न सुरु गरेपछि व्यवसायीको सामान सस्तो मूल्यमा आउन थालेको स्थानीय व्यापारी सुरेश भण्डारीले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर विसं २०५६ मा शिलान्यास भएको थियो । दक्षिणको नेपालगन्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो कोरिडोर ६ सय ८२ किलोमिटर लामो छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हिल्सा नाका पुग्न ४ सय १० किलोमिटरको यो सडक निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैँले लिएको थियो ।
नेपाली सेनाले बनाएको बाहेक हिल्सा–सिमकोट खण्डको १ सय ४५ किलोमिटर ट्याक खोल्न र चारवटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९\७० देखि आव २०७९\८० सम्मको लागत ४ अर्ब १० करोड रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
हिल्सामा एलसीसहितको क्वारेन्टाइन राखिने
प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसीसहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिबद्वता जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले त्रिदेशीय महत्वपूर्ण नाका भएकाले यहाँका व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताउनुभयो । उहाँले हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने बताउनुभयो ।
‘आजदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।’
४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रिजमा रिबन काटेर गाडी पास गराएपछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिएसँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शीर्ष सदरमुकाम सिमकोट अबदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा टाढा नभएको बताउनुभयो ।
मित्रराष्ट्र चीन र भारतलाई जोड्ने यस राजमार्गले अन्तर्राष्ट्रिय बजारसम्मको हाम्रो पहुँचलाई विस्तार गर्ने छ : प्रधानमन्त्री ओली











प्रतिक्रिया