–जम्मा १९ प्रतिशत उत्तीर्ण
काठमाडौं ।
स्वास्थ्य व्यवसाय परिषद्ले लिएको ३९औँ प्राविधिक प्रमाणपत्र तह (पीसीएल) नर्सिङ लाइसेन्स परीक्षामा १९ दशमलव ४३ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । यो नतिजा विगत केही वर्षयताकै सबैभन्दा कम हो, जसले नेपालको नर्सिङ शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
परीक्षा गत असार १७ र १८ गते सम्पन्न भएको थियो । परिषद्को अनुसार कुल ९११ जनाले परीक्षा दिएका थिए, जसमध्ये जम्मा १७७ जनाले मात्र उत्तीर्ण प्रमाणपत्र प्राप्त गरेका छन् । नेपालमा नर्सिङ पेसालाई औपचारिक रूपमा नियमन गर्न २०५२ सालमा स्वास्थ्य व्यवसाय परिषद् स्थापना गरिएको थियो । त्यसअघि विभिन्न संस्थाबाट नर्सिङ शिक्षा लिएकाहरूलाई सीधै रोजगारमा समावेश गरिन्थ्यो, तर कुनै औपचारिक नाम दर्ता (लाइसेन्स) प्रणाली थिएन । परिषद् गठनपछि नर्स, ल्याब टेक्निसियन, फार्मासिस्टजस्ता स्वास्थ्यकर्मीले अनिवार्य रूपमा लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था लागू गरियो ।
स्वास्थ्य व्यवसाय परिषद्को तथ्यांकअनुसार अघिल्लो सबैभन्दा कमजोर नतिजा २०७९ चैतमा भएको ३३औँ लाइसेन्स परीक्षामा आएको थियो । त्यतिबेला पीसीएल तहमा मात्र २६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । अहिलेको नतिजाले त्यो झन्डै भन्दा ७ प्रतिशतले घटेको देखिन्छ ।
यसले नर्सिङ शिक्षा दिने संस्थाहरूमा गुणस्तर र अनुगमन कमजोर छ भन्ने संकेत गर्दछ । स्वास्थ्य विज्ञहरू भन्छन्– ‘शैक्षिक संस्थाहरूको अनुगमन, प्रयोगात्मक तालिमको अभाव, दक्ष प्रशिक्षकको कमी र विद्यार्थीको आधारभूत तयारीको अभावले यस्तो अवस्था सिर्जना भएको हो ।’
पीसीएलको तुलनामा बीएस्सी, बीएमएस र विशेषज्ञ नर्सहरूको नतिजा भने राम्रो देखिएको छ । परिषद्की प्रशासकीय अधिकृत रेखा गिरीका अनुसार, बीएस्सी नर्सिङतर्फ ३२७ परीक्षार्थीमध्ये २०३ जना (६२.०८ प्रतिशत) सफल भएका छन् । बीएमएसमा ५१ जनामध्ये ४२ जना (८२.३५ प्रतिशत) तथा विशेषज्ञ नर्सतर्फ २७४ जनामध्ये १७५ जना (६६.८७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
विशेषज्ञ नर्सहरूका लागि यसअघि वर्षमा एकपटकमात्रै परीक्षा हुने गथ्र्यो, त्यो पनि अबदेखि भने अन्य तहसरह वर्षमा तीनपटक परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । अब चार–चार महिनामा परीक्षा हुनेछ, जसले परीक्षार्थीलाई अवसरमा पहुँच बढाउनेछ । आगामी कात्तिकमै अर्को परीक्षा सञ्चालन गर्ने तयारी छ ।
विगत दुई दशकमा नर्सिङ शिक्षाको व्यापक विस्तार भए पनि गुणस्तर भने समानान्तर रूपमा वृद्धि हुन सकेको छैन । हाल देशभर करिब १५० भन्दा बढी संस्थाहरूले पीसीएल नर्सिङ पढाउँदै आएका छन्, तर अधिकांश संस्थामा पूर्वाधार, प्रशिक्षक र क्लिनिकल तालिममा कमजोरी रहेको व्यापक आलोचना हुँदै आएको छ ।
स्वास्थ्य शिक्षा विज्ञ डा. रमा केसी भन्नुहुन्छ– ‘हामीले संख्या बढाउने कुरामा मात्रै ध्यान दियौं, गुणस्तरमा होइन । अहिलेको नतिजा त्यसैको परिणाम हो ।’ सरकारले २०८० सालदेखि पीसीएल नर्सिङ कार्यक्रमलाई क्रमशः बन्द गर्दै बीएस्सी नर्सिङतर्फ केन्द्रित गर्ने नीति लिएको छ । तर, तिनका लागि पहुँच, शुल्क र पूर्वतयारीको चुनौती अझै कायमै छ ।
पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको यो कमजोर नतिजा नेपालमा स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिकामाथि गम्भीर असर पार्न सक्छ । अब शिक्षा नीतिमा सुधार, संस्था अनुगमनको सुदृढीकरण र विद्यार्थीको स्तरीय तयारीमा जोड दिनु आवश्यक देखिन्छ । नत्र, स्वास्थ्य सेवाको पहिलो पंक्तिमा खटिने नर्सहरूको दक्षतामै प्रश्न उठ्ने खतरा अझ बढ्नेछ ।











प्रतिक्रिया