वीरगञ्ज ।
वीरगञ्जबाट काठमाडौंसम्म एम्बुलेन्सबाट लागुऔषधको तस्करी हुने गरेको पाइएको छ । ललितपुर प्रहरीले एम्बुलेन्सबाट बरामद लागुऔषधबारे अनुसन्धान गर्दै जाँदा यस्तो कुरा पत्ता लागेको हो । भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट बरामद लागुऔषध ट्रमाडोल ट्याब्लेट र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा थप रहस्य खुलेको हो ।
भारतीय र नेपालीको संगठित गिरोहले वीरगञ्जको रक्सौल नाकाबाट भारतीय नम्बर प्लेटको बीआर ०५ प ०४२१ एम्बुलेन्समा लागुऔषध राखी लामो समयदेखि काठमाडौं उपत्यकामा तस्करी गर्दै आएको तथ्य खुलेको हो । कारोबारीका बैंक खाता हेर्दा करोडौं रुपियाँ ट्रान्जेक्सन भएको देखिन्छ । घटना तीन महिनाअघिको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले यही असार १८ गतेमात्रै अदालतमा मुद्दा दर्ता गरेको पाइएको छ । प्रतिवादीहरूविरुद्ध लागुऔषध ओसारपसार तथा बिक्रीवितरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ ।
लागुऔषध मुद्दामा प्रहरीले आरोपितलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुरको प्रहरी चौकी भट्टेडाँडाबाट गत चैत २३ गते पक्राउ परेका भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत ५ का २० वर्षीय समिर आलम, भारतकै मोतिहारी राजबजारका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी पलानवा ग्राम पञ्चायतका ४५ वर्षीय नोर्जान खातुन, मोतिहारी पछियाटोलका २२ वर्षीय मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) र १६ वर्षीय एक किशोरमाथि अनुसन्धान गर्दा काठमाडौंमा बसेर लागुऔषध मगाउने र बिक्रीवितरण गर्ने गिरोहको पर्दाफास भएको हो ।
प्रहरीले अनुसन्धान गर्दा लागुऔषध बिक्रीवितरण गर्नेमध्येका एकजना नुवाकोटका राजु मिजार र मगाउनेमध्येका ललितपुर पाटनका रमेश देउलाको संलग्नता खुल्यो ।
मिजार यसअघि नै अर्को लागुऔषध मुद्दामा कालिमाटी वृत्तको हिरासतमा थिए । देउला अझै फरार छन् । मिजारले प्रहरी र सरकारी वकिल कार्यालयमा बयान दिएअनुसार अन्सारी र सिद्दिकीले लामो समयदेखि वीरगञ्जबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागुऔषध लुकाएर ल्याउँथे । उक्त लागूऔषध देउलाले बुझ्थे । देउला र मिजार मिलेर काठमाडौं उपत्यकामा लागुऔषध बिक्रीवितरण गर्थे । प्रहरीले अनुसन्धान गर्दै जाँदा यो गिरोहमा पर्सा जिल्लाका प्रभात दाइ भन्ने प्रभात साह कानु र रमाकान्त साह गोढले एक्बुलेन्स चालक र साहुलाई पैसाको प्रलोभन देखाएर काठमाडौं उपत्यकामा लागुऔषध पठाउने गरेको तथ्य खुलेको छ । कानु र गोढ पनि अहिले फरार छन् । एम्बुलेन्सका धनी अन्सारीलाई साह र गोढले लागुऔषध काठमाडौं पु¥याइदिएबापत ५० हजार दिने र चालक सिद्दिकीलाई १५ हजार रुपियाँ दिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ । अन्सारी र सिद्दिकीले बयानमा उक्त कुरा खुलाएका छन् ।
फरार रहेका साहको सम्पत्ति विवरण हेर्दा प्रहरी नै चकित परेका छन् । वीरगञ्जका ५ ठाउँमा महँगो मूल्य पर्ने ६७८.९७ वर्गमिटर जग्गा, एनएमबी बैंकमा ६१ लाख ७४ हजार रुपियाँ, ग्लोबल आइएमई बैंकमा ६६ लाख ५० हजार ३४५ रुपियाँ जम्मा भएको देखिन्छ । फरारमध्येका गोढको खातामा मिजार र उनकी श्रीमती मिना मगरले २० पटक गरेर विभिन्न मितिमा २ करोड ७६ लाख ६८ हजार ३१४ रुपियाँ जम्मा गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । पक्राउ परेकामध्येका एम्बुलेन्स चालक सिद्दिकीले बयान दिएअनुसार उनी ९ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका थिए ।
त्यतिबेलै उनको अन्सारीसँग चिनजान भएको थियो । अन्सारीले मासिक १० हजार दिने र ट्रिपमा आउने रकमको १० प्रतिशत रकम दिने प्रलोभनमा उनलाई एम्बुलेन्सको चालक बनाएका थिए । प्रहरीले बरामद गरेको लागुऔषध अन्सारीकै योजनामा एम्बुलेन्समा राखिएको र उनी आफैं एम्बुलेन्स चढेर ललितपुरसम्म आएको बयान सिद्दिकीले प्रहरीमा दिएका छन् । अन्सारीले प्रभात साह कानु (हाल फरार) सँग फोनमा कुरा गरेर बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध राख्न लगाएको बयान सिद्दिकीको छ ।
भट्टेडाँडामा प्रहरीले एम्बुलेन्स राकेर झोला खोल्न लगाउँदा अन्सारीले मानेका थिएनन् । सिद्दिकी भने भागेका थिए । रातको समयमा २÷३ किलोमिटर दौडिएका सिद्दिकीलाई प्रहरीले राति ११ बजे पक्राउ गरेको थियो । ५० हजार पाउने प्रलोभनमा अन्सारीले वीरगञ्जको एक अस्पतालमा उपचार गराइरहेकी सासु नाता पर्ने एक महिलालाई काठमाडौंमै राम्रो उपचार हुन्छ भन्दै लागुऔषध बोकेको एम्बुलेन्समा चढाएर काठमाडौं ल्याउँदै थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार यो गिरोहको मुख्य सञ्जालसम्म पुग्न प्रहरीले धेरै मेहनत गर्नुपरेको थियो । मुख्य आरोपित राजु मिजारले परिवार पाल्न गाह्रो भएपछि छिट्टै पैसा कमाउने लोभमा लागुऔषध तस्करीमा लागेको बयान दिएका छन् ।











प्रतिक्रिया