वीरगन्ज ।
चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका हुँदै भटमासको कच्चा तेलको आयातमा तीव्र वृद्धि भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१३।४१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा मात्र सात अर्ब ३७ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको थियो।
भन्सार प्रमुख दीपक लामिछानेका अनुसार व्यवसायीहरूले कच्चा तेल आयात गरी नेपालमै प्रशोधन गरेर फेरि निर्यात गरिरहेका छन्। चालु आवको ११ महिनामा वीरगन्ज नाकाबाट ५५ अर्ब तीन करोड रुपैयाँ मूल्य बराबरको २५ करोड ८८ लाख लिटरभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने मात्र चार लाख ६४ हजार लिटर प्रशोधित तेल निर्यात भएको थियो।
त्यस्तै, सूर्यमुखीको तेलको कारोबार पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ। चालु आवमा नौ अर्ब ७५ करोड रुपैयाँ बराबरको सूर्यमुखीको कच्चा पदार्थ आयात भएको छ, भने तीन करोड ८८ लाख लिटरभन्दा बढी सूर्यमुखीको प्रशोधित तेल ९मूल्य आठ अर्ब ४० करोड० निर्यात गरिएको छ। अघिल्लो आवको तुलनामा निर्यातको मात्रा झन्डै ७ गुणाले वृद्धि भएको छ।
तेल प्रशोधन र निर्यातको यस्तो तीव्र वृद्धिले व्यापारिक रणनीतिमा परिवर्तन देखिएको अनुमान गर्न सकिन्छ। तथापि, यसका दीर्घकालीन प्रभाव र राज्यको राजस्व व्यवस्थामा यसको असरबारे सम्बन्धित निकायले थप अध्ययन र निगरानी आवश्यक देखिएको छ।











प्रतिक्रिया