काठमाडौं ।
नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेको संयुक्त पहलमा आयोजित नेपाल–यूके लगानी बैठक लन्डनस्थित हाउस अफ लड्र्समा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र बेलायत सरकारका उच्च प्रतिनिधि तथा दुबै देशका अग्रणी व्यवसायीहरूको उपस्थिति थियो ।
बैठकको मुख्य उद्देश्य दुई देशबीच व्यापार र लगानीका सम्भावनामाथि छलफल गर्दै नयाँ परियोजनामा साझेदारी विस्तार गर्नु रहेको थियो । बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्तालाई आवश्यक सबै सहयोग दूतावासले उपलब्ध गराउने भन्दै नेपालमा लगानीलाई दिगो र आकर्षक बनाउन सरकारी प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पर्यटन र पूर्वाधारमा विस्तारित अवसरबारे प्रस्तुति दिँदै नेपालले प्रक्रियाहरू सरल बनाइसकेको छ र आकर्षक प्रोत्साहनहरू उपलब्ध छन् । यही कारण नेपाल विदेशी लगानीका लागि विश्वसनीय गन्तव्य बन्दै गएको बताए । उनले जलविद्युत, विमानस्थल आधुनिकीकरण र आतिथ्य क्षेत्रका परियोजनामा बेलायती लगानीकर्तालाई अघि सर्न आग्रह गरे ।
बेलायती संसदकी सदस्य बारोनेस वर्माले भारत र चीनबीचको रणनीतिक अवस्थिति”लाई नेपालको मुख्य बलियो पक्षका रूपमा उल्लेख गर्दै बेलायती व्यवसायहरूलाई नेपालमा पेशागत रूपमा उपस्थित हुन प्रेरित गरिन् । यद्यपि, लन्डनका प्रविधि उद्यमी जर्ज चाकोले नीतिगत सुधार प्रशंसा योग्य भए पनि कार्यान्वयनमा निरन्तरता आवश्यक रहेको उनको टिप्पणी थियो ।











प्रतिक्रिया