गरिबी र कुपोषणले गिजोलियो मुक्तिकोट

दुई बालबालिकाको मृत्यु, २५ जना अझै कुपोषित

846
Shares

बाजुरा ।

बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ मुक्तिकोटमा २५ जना कुपोषित बालबालिका फेला परेका छन् । मुक्तिकोटका २७५ घरधुरी सर्वेक्षेण गर्दा २५ जना कुपोषित बालबालिका फेला परेको मुक्तिकोट स्वास्थ्यचौकी इन्चार्ज वृज विकले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जनामा रातो कडा र १४ जनामा पहेँलो मध्यम कुपोषणको लक्षण देखिएको छ । जसमध्ये यस आर्थिक वर्षमा २ बच्चाले कुपोषणकै कारण ज्यान गुमाए ।

यसरी ज्यान गुमाउनेमा स्वामिकार्तिक गाउँपािलका–२ की रूपसरा न्यौपानेका १६ महिनाको छोरा सन्तोष न्यौपाने र वडा न. १ मुक्तिकोटकी १७ महिनाकी जमुना विक रहेकी छन् ।स्वास्थ्यचौकी इन्चार्ज विकले रूपसराको घरमै गएर सम्झाएको, पालिकाले सहयोग गर्छभन्दा पनि नमानेकाले रूपसराले छोरो गुमाउनुपरेको बताउनुभयो । उहाँले यस वर्ष कुपोषणकै कारण दुई जनाले ज्यान गुमाएको रेकर्ड भए पनि र गाउँमा अरू दुई÷तीन बच्चा पनि कुपोषणले मरे भन्ने जानकारीमा आएको बताउनुभयो ।

‘प्रकृतिक रूपमा स्वामिकार्तिक खापर गाउँपालिका सुख्खा खडेरीग्रस्त छ । उत्पादन अत्यन्त न्यून हुन्छ । तरकारी सागसब्जी पोषणयुक्त खाना पाउन समस्या छ, विपन्न गरिब बस्ती छ । तर, जन्मदर बढी छ । मुक्तिकोटमा एकजनाका दुईटी श्रीमती छन् । दुई श्रीमतीबाट २० सन्तान छन् । त्यो त एक उदाहरणमात्र हो । गाउँमा प्रायःका चार पाँच बच्चा हुनु नर्मल मान्छन् । त्यो पनि १५ देखि २५ वर्ष उमेर समूहका हुन्छन् । कतिपय त जन्मिँदै कुपाषित भएर जन्मिन्छन् । यहाँका मान्छेमा चेतानास्तर नै कमजोर छ’ – स्थानीय समाजसेवी मनबहादुर रोकायाले बताउनुभयो । ‘राम्रोसँग केलाउने हो भने पालिकाभरि कुपोषणले जरो गाडेको छ तर फोकस कुनै ठाउँ विशेष भएको छ’ – रोकायाले भन्नु्भयो ।

‘स्वामिकार्तिक गाउँपालिकाले यस वर्षमात्र कुपोषण घटाउन १ करोड बढी रुपियाँ एकै गाउँ मुक्तिकोटमा लगानी गरेको छ । खाद्य डिपो त्यहीँ छ । स्वास्थ्य चौकी प्रहरी चौकी छन् । बाटो पुगेको छ । विभिन्न चेतनामूलक कार्यक्रम पनि गरिएका छन् । तर, त्यहाँको गरिबी र पछौटेपन हटाउन सकेको छैन’ वडा नं १ का वडाध्यक्ष अजय विकले भन्नुभयो ।

स्वामिकार्तिक खापर गाउँपालिकाभरि सर्वेक्षण गर्ने हो भने कुपोषित आमा र बच्चाको संख्या धेरै हुन सक्ने इन्चार्ज विकले बताउनुभयो । मुक्तिकोट गाउँमा आरयूटीएफ नहुँदा गाउँमा रहेका २५ जना कुपोषित बालबालिकाको विगत केही महिनादेखि उपचार रोकिएको छ । स्वास्थ्य कार्यालयले आरयूटीएफ आवश्यक भए पनि माग नभएको बताएको छ, तर गाउँले र स्थानीय अधिकारीहरूले अभावको जानकारी दिएका छन् । गाउँमा कुपोषणको समस्या गम्भीर रहेको र धेरै बालबालिका र गर्भवती महिलाहरू चरम कुपोषणको मारमा छन् ।

‘आरयूटीएफ अभाव भएको गाउँपालिका र स्वास्थ्य कार्यालयलाई समयमै जानकारी गराएका थियौं, तर कतैबाट नआएपछि २५ जना कुपोषित बच्चाको उपचार रोकिएको छ,’ पालिकासम्म आरयूटीएफ आइसकेको छ केही दिनमा ल्याउने छौं’ – इन्चार्ज विकले भन्नुभयो ।कुपोषण हटाउन विभिन्न पोषणयुक्त कार्यक्रम सञ्चलान गरिएको, स्वास्थ्यकर्मीले पहिचान गरेका कुपोषित आमा र बालबालिकालाई जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गरेर हालसम्म ५१ जना कुपोषित आमा र बालबालकाको उपचार गराइरहेको जिल्ला पोषण कार्यक्रम संयोजक स्टाफ नर्स निर्मला विकले जानकारी दिनुभयो ।

जिल्लामै सबैभन्दा विपन्न बस्ती साविकको साप्पाटा गाविसमा छ । यहाँको जन्मदर पनि जिल्लामै उच्च छ । बन्ध्याकरण गर्न न पुरुष मान्छन् न त महिला । पुरुष भन्छन्, हामीले भारत गएर भारी बोकेर खानुपर्छ । बन्ध्याकरण गरे कमजोरी भइन्छ । पुरुष काम खोज्न बाहिर जान्छन् घरमा महिला बालबालिकाको स्याहार गर्ने कोही हुँदैनन् । घरको सबै काम महिलाले गर्नुपर्छ । परिवार नियोजन गरे कमजोरी भइन्छ भन्ने मान्यता महिलामा छ । वर्षैपिच्छे परिवार नियोजन गर्न शिविर बस्छ । बढीमा दुई तीन जनाले मात्र गर्छन् ।