काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) को पछिल्लो सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको विस्फोटक अभिव्यक्तिको विषयले पार्टीभित्र गहिरो विवाद उत्पन्न गराएको छ। लुम्बिनीमा आयोजित एक पार्टीनिकट युवाहरुको कार्यक्रममै अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको टिप्पणीले सचिवालय बैठकमै प्रवेश पाउँदै उनको पार्टीभित्रको भविष्य संकटमा परेको छ।
विवादको सुरूवातः ‘सिनो बोकेर हिँड्न सकिन्न’
लुम्बिनीमा आयोजित कार्यक्रमको सम्बोधनमा झाँक्रीले पार्टी नेतृत्वको आलोचना गर्दै भनिन्, “सिनो बोकेर हिँड्न सकिन्न, अब अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक छ।”
उनको यो अभिव्यक्तिलाई पार्टीभित्रै गम्भीर असन्तुष्टिको विषय बनाइएको छ। नेतृ झाँक्रीको भनाइ पार्टी नेतृत्व र विशेषतः अध्यक्ष माधव नेपालप्रति लक्षित थियो भन्ने आम बुझाइ सचिवालय बैठकमा देखिएको हो।
सचिवालयमा चर्को आलोचना
असार १९ गते बसेको सचिवालय बैठकमा अधिकांश नेताहरूले झाँक्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै अनुशासनहीन र अक्षम्य भनेका छन्।
पार्टीकी उपाध्यक्ष जयन्तीकुमारी राईका अनुसार, “झाँक्रीले बोलेको विषयलाई लिएर प्रायः सबै नेताहरूले गम्भीर असन्तुष्टि जनाउँदै कडा कारबाहीको माग गर्नुभएको छ।”
बैठकमा सहभागी एक नेताका अनुसार, कतिपय नेताले झाँक्रीलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने प्रस्तावसम्म राखेका छन्। उनीहरूको तर्क थियो—“नेतृत्वलाई अपमान गर्ने ढंगले सार्वजनिक रूपमा बोलेर पार्टी अनुशासन उल्लंघन गरिएको छ।”
अध्यक्षको मौनता र महासचिवको अनुपस्थिति
अध्यक्ष माधवकुमार नेपाल भने यस विषयमा मौन देखिए। बैठकमा सहभागी एक नेताले भने, “अध्यक्षज्यूले यो विषयमा केही खास प्रतिक्रिया दिनुभएन, राजनीतिक विषय भएकाले सामान्य टिप्पणी मात्रै गर्नुभयो।”
महासचिव घनश्याम भुसाल भने स्वास्थ्य कारण देखाएर बैठकमा अनुपस्थित रहे। सचिवालय बैठक अब आइतबार ९असार २२० पुनः बोलाइएको छ।
झाँक्रीको प्रतिवादः “मलाई कुनै स्पष्टीकरण सोधिएको छैन”
अभिव्यक्तिपछि आलोचित बनेकी झाँक्रीले भने आफूलाई कुनै पनि कमिटी वा पदाधिकारीले स्पष्टीकरण मागेको जानकारी नभएको दाबी गरिन्।
“कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनीसक्नुभयो,” उनले भनिन्, “तर मलाई न त मौखिक, न त लिखित रूपमा कसैले केही सोधेको छ।”
झाँक्रीले पार्टीभित्रका शक्तिशाली नेताहरूले मिडिया र सोसल मिडियामा आफूविरुद्ध व्यक्तिगत लाञ्छना र प्रतिशोधपूर्ण टिप्पणी गरिरहेको गुनासो गरिन्। उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै झलनाथ खनाल, घनश्याम भुसाल र डा। बेदुराम भुसाललाई बोधार्थ पठाएको पत्र सचिवालयमा राखिएको बताइन्।
अनुशासन समितिबाट पत्र
यता नेताहरूले भने अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण मागिसकेको दाबी गरेका छन्। तर झाँक्रीले त्यसको जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरेकी छिन्। यो कुराले पार्टीको आन्तरिक संवाद प्रणालीप्रति पनि प्रश्न उठेको छ।
निष्कर्षः नेतृत्वको असन्तोष र राजनीतिक गहिराई
रामकुमारी झाँक्रीको अभिव्यक्तिले नेकपा एस भित्र नेतृत्वप्रतिको असन्तोष सतहमा ल्याएको छ। युवा पुस्ताका नेताहरू नेतृत्व परिवर्तनको माग गर्न थालेका छन् भने पुराना नेतृत्व त्यसलाई विद्रोहको रूपमा हेरिरहेका छन्।
आइतबार बस्ने सचिवालय बैठकमा झाँक्रीविरुद्ध कस्तो निर्णय लिइन्छ भन्ने कुराले पार्टीको आगामी बाटो निर्धारण गर्नेछ—कडा अनुशासनात्मक कारबाही या पार्टीभित्र छलफल र आत्ममूल्यांकन गर्ने भएको छ ।











प्रतिक्रिया