मनसुन सुरु भएयता ६७४ विपद्, ३१ को मृत्यु


काठमाडौं ।

१५ जेठदेखि १६ असारसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

८७ वटा पहिरोका घटनामा ११ घर पूर्ण र २५ घर आंशिक क्षतिग्रस्त भएका छन्। एक पुल, सात गोठ, र १४ चौपाया क्षतिग्रस्त भएका छन्। पहिरोबाट मात्रै २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका ६४ घटनामा ४ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने १२३ परिवार प्रभावित भएका छन्। चट्याङका ८२ घटनामा ८ जनाको मृत्यु र २० जना घाइते भएका छन्।

हुरिका ४५ घटनामा एक जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
समग्रमा, मनसुनजन्य विपद्‌बाट २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।