श्रमदान अभियानमा जनप्रतिनिधि तथा कर्मचारीहरु

658
Shares

खोटाङ।

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई लगायत जनप्रनिधि तथा कर्मचारीहरु निरन्तर श्रमदान अभियानमा छन् । सभ्य, समुन्नत तथा समृद्द गाउँपालिका निर्माण गर्ने अठोटका साथ अध्यक्ष राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु श्रमदानमा अभियानमा जुटेका हुन् ।

देशकै नमूना गाउँपालिका निर्माण अभियान अन्तर्गत हाल पालिकामा सञ्चालित गौरवको आयोजना तथा अन्य बिकासे गतिबिधिमा श्रमदान भईरहेको छ । निर्माणाधिन साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पाँचधारे सडक निर्माणमा यतिखेर दिन–रात खटिरहेको गाउँपालिकाले जनाएको छ । केही समयदेखि परेको लगातारको वर्षाका कारण सडकमा पुगेको क्षतिप्रति संवेदनशिल बनेर खटिरहेको अध्यक्ष रबिप्रकाश राईले बताउनुभयो ।


भलबाढी र पहिरोका कारण नागरिकहरुलाई आवतजावतमा समस्या भएपछि आफै सहभागी भएर मर्मतमा लागेको अध्यक्ष राईको भनाई छ । गाउँपालिकाको आफ्नै स्काभेटर र ट्याक्टर प्रयोग गरी कर्मचारीहरु समेत मर्मत कार्यमा जुटिरहेको पाईएको छ ।

गत वर्ष पनि वर्षाद सुरु हुनसाथ अध्यक्ष राईकै नेतृत्वमा केही सडकहरु मर्मत गरि सवारी साधन आवागमनलाई सहज बनाईएको थियो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेत आकस्मिक पूर्वाधार निर्माण कार्यक्रमलाई पनि अघि सारेको छ ।

सडक विग्रिएर आवतजावतमा समस्या भईरहेको अन्य सडकहरुमा समेत क्रमिक रुपमा सुधार गर्दै लगिने जनाईएको छ । टोल–टोलबाट नागरिक आफै सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी सडक तथा पूर्वाधार, सरसफाई लगायतका कार्यमा सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।गाउँपालिकाभित्रका बिद्यालय लगायत अन्य संरचनाहरुमा समेत श्रमदान अभियान चलाउँदै आएको गाउँपालिकाले उल्लेख गरेको छ ।