‘बरु मर्न तयार छौं, एक चिम्टी बालुवा छुन दिन्नौं

27.82k
Shares

–सार्वजनिक सुनुवाइमा भनाभन, स्थानीयले हस्ताक्षर गर्न मानेनन्

काठमाडौं ।

उपत्यकाको सभ्यता वागमतीको गल्छीको छेडोको गेग्य्रान र ढुंगा हटाउने सरकारी योजनामा धक्का लागेको छ । स्थानीय र सम्पदाप्रेमीले चोभार गल्छी र त्यस वरपर कुनै पनि संरचना छुन र भत्काउन नदिने भएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले वागमती नदीको चोभार गल्छीमा थुप्रिएको गेग्य्रान तथा फोहोर पन्छाएर नदी प्रवाहको अवरोध हटाउने निर्णय गरेको थियो ।

निर्णयलगत्तै सम्पदा अभियन्ताले त्यहाँबाट एक चिम्टी वालुवा पनि निकाल्न नदिने चेतावनी दिएका छन् । मञ्जुश्रीले तालले भरिएको उपत्यकाको पानी खड्गले काटेर बस्ती बसाउन गल्छीबाट पानी पठाएको किंवदन्ती छ । सोही किंवदन्ती जोगाउन स्थानीय सम्पदापे्रमीले गल्छीमा एक चिम्टी वालुवा निकाल्न नदिने जनाएका छन् । गल्छीको अवरोध हटाउने कि यथावत राख्ने भन्ने विषयमा हिजो सार्वजनिक सुनुवाई आयोजना भएको थियो ।
त्यसक्रममा सम्पदा अभियन्ता रवि शाक्यले भूमाफिया लागेर खोलाको किनार बेचिएको आरोप लगाउनुभयो । ‘खोला बग्ने क्षेत्रमा किन घर बनाउनुप¥यो ? नदी ठूलो बनाउन माग गर्नेहरू सबैले डुबान पर्दापर्दै घर बनाएका हुुन्’ –उहाँको तर्क थियो । ‘वागमतीको गल्छी साँघुरै हुनुपर्छ । यदी ठूलो भएमा सिकाली बग्न मच्छिन्द्रनाथ स्नान गर्न पानी ल्याउने कटुवालदह नरहन सक्छ । जलविनायक नरहन सक्छ त्यसैले गल्छीमा केही छुनुहँुदैन । जे छ त्यही ठिक छ । गल्छीबाट ढुंगा निकाले अस्तित्व मेटाउन खोजे हामीहरू मर्न तयार छौं, गल्छीमा छुनै दिँदैनौं’ –अभियन्ता शाक्यले भन्नुभयो ।

काठमाडौं–१० का सांसद राजन केसीले सबैको सहमतिमा मात्र प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ऐतिहासिक क्षेत्रमा काम गर्दा सर्वसम्मत निर्णय हुनुपर्छ । अनिमात्र काम गर्न सजिलो हुनेछ ।’नागरिक सुनुवाइमा सरकारी निकाय, सांसद राजन केसीलगायत नेताको उपस्थिति थियो । स्थानीयले गल्छीलाई छुन नहुने भन्दै होहाल्ला गर्न थालेपछि नागरिक सुनुवाई कार्यक्रम केहीबेर अवरोध भएको थियो । शाक्यको भनाइलगत्तै बोल्नुभएका कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले गल्छी सफा गर्ने नाममा सम्पदा मास्न नहुने जिकिर गर्नुभयो । उहाँले सार्वजनिक सुनुवाइको खासै अर्थ नभएको बताउनुभयो ।

स्थानीय पञ्चलाल महर्जनले वागमती नदीको मापदण्ड मिचेर संरचना निर्माण गरेका कारण समस्या आएको जिकिर गर्दै वागमतीको गल्छीलाई ठूलो पार्दैमा समाधान नहुने बताउनुभयो । ‘हजारौं वर्षदेखि अस्तित्वमा रहेको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल गल्छीमा ढुंगा हटाउने कार्य कुनै पनि हालतमा गर्न हुँदैन । यदि, हामी स्थानीयको मागलाई अटेर गरेमा कडा संघर्षमा उत्रन बाध्य हुनेछौं’ –उहाँले भन्नुभयो । उहाँले कीर्तिपुर–६ का वडाअध्यक्षले गल्छीबाट ढुंगा हटाउन र फोहोर सफा गर्न सिफारिस दिएका कारण समस्या आएको आरोप लगाउँदै तत्काल सिफारिस रद्द गर्न आग्रह गर्नुभयो । ‘माथिल्लो क्षेत्र डुबानको विषयमात्र उठान गरियो । गल्छी चौडा पार्दा अन्य सम्पदामा कति असर पर्नसक्छ भन्ने विषयमा कुनै पनि योजना तयारी गरिएको देखिएन’ –महर्जनले भन्नुभयो ।

सार्वजनिक सुनुवाईमा सरकारी निकायले उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउन खोज्दा स्थानीयले बहिष्कार गरेका थिए । अभियन्ता शाक्यलगायत टोलीले पाँच दिनअघि चोभार गल्छीस्थित झोलुङ्गेपुलमा खबरदारी ब्यानर राखेका थिए । ‘ऐतिहासिक तथा धार्मिक महत्व भएको नेपाल मण्डल सभ्यताको अस्तित्व बोकेको ‘न्हुछकाप’ मञ्जुश्री गल्छी कुनै बहानामा एकमुठी बालुवा पनि छुन पाउँदैन होसियार’ कालो ब्यानरमा लेखिएको छ ।

सम्पदा संरक्षणकर्ता गणपतिलाल श्रेष्ठले गल्छीमा सफा गर्न नपाइने बताउनुभयो । उहाँले सम्पदा नष्ट गर्न खोज्ने सरकारविरुद्ध बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिनुभयो । असार १५ गते अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुर महानगरपालिका र कीर्तिपुर नगरपालिका र ललितपुरको १८ र कीर्तिपुरको ६ नम्बर वडालाई दुई बुँदे निर्णयसहित पत्र पठाएको थियो । पत्रमा गल्छीभन्दा २० मिटर उत्तरतर्फ नदी बाहव क्षेत्रमा रहेका ठूला ढुंगाहरू र नदी प्रवाहमा गेग्रयान हटाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेको छ ।

दुईबुँदे निर्देशनको पहिलो बुँदामा २० मिटर उत्तरतर्फ नदीको बीचमा रहेको ५ वटा ठूला चट्टानहरू डिमोसियसन माध्यमबाट हटाउने र नदीको बहावमा अवरोध पुर्‍याइरहेको गेग्य्रान माटो तथा फोहोरहरू हटाउने उल्लेख छ । समितिले परापूर्व कालदेखि रहेको गल्छीमा कुनै पनि निर्माण वा भत्काउने कार्य नगरिने भएकोले नदीको बीचमा रहेका चट्टानहरू हटाउने कार्यमा आवश्यक सहयोग एवं सहजीकरण गरिदिनु हुन अनुरोध छ भन्दै पत्र पठाएको थियो । सोही पत्रको आधारमा कीर्तिपुर–६ स्थित चोकमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो । तल भिडियो राखिएको छ ।