कुलमान राजनीतिमा जाने संकेत, मध्यपूर्वका नेपाली भेट्न निस्किए


काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त भएपछि कुलमान घिसिङकाे नयाँ गन्तव्यका बारेमा चर्चा चलिरहेका बेला उनी राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ । विभिन्न तहमा छलफल भइरहेको बताउँदै आएका घिसिङ मध्यपूर्वका नेपाली भेट्न निस्किएपछि राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको हाे ।
उनले खाडीका विभिन्न मुलुककाे भ्रमण गरी त्यहाँ कार्यरत नेपालीसँग छलफल र परामर्श गर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्-
‘मध्यपूर्वी देशहरु(GCC )मा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,

विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।

तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।

देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।’